राजेन्द्र काेइराला
काठमाण्डाै । आफ्नै श्रीमतीको हत्या गरी प्रमाण समेत नष्ट गर्न लागेको अभियोगमा जिल्ला अदालत काठमाण्डौं बाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका रञ्जनप्रसाद कोइरालाकाे सजायमा व्यापक कटौति गरी सर्बोच्च अदालतले ८ बर्ष ६ महिना कायम गरेको छ ।
२०७१ वैशाख ७ गते जिल्ला अदालत काठमाण्डौंले रञ्जन कोइरालाले नै श्रीमती गीता ढकालको हत्या गरी उनलाई जन्मकैद र उनको नाममा रहेको र भागमा पर्ने सम्पत्ति पनि जफत हुने फैसला सुनाएको थियो । फैसलामा चित्त नबुझि उनले गरेको गरेको पुनराबेदनमा तत्कालीन पुनरावेदन अदालत पाटनले पनि २०७२ मंसिर २३ मा काठमाडौं जिल्ला अदालतकै फैसला सदर गरिदियो ।
त्यसपछि कोइराला सर्वोच्च अदालत गुहार्न पुगे । गत असार १५ मा सर्बोच्चले अन्तीम फैसला गर्यो । सर्बाेच्चले जिल्ला र उच्च अदालतको फैसलानै सदर गरेको देखिएपनि जेल सजायमा ब्यापक कटौती गरिदियाे ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यन्वयन) ऐन, २०७४ को दफा १७ क मा कम सजाय तोक्ने र राय पेश गर्नेबारे उल्लेख गरिएको छ । जसमा सजाय चर्को पर्न गएको जस्तो लागेमा न्यायाधीशले सजायमा कमी गर्न सक्ने कानूनी प्रावधान रहेको छ । सोहि आधारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश तेजशादुर केसीको संयुक्त इजलाशले सर्वस्वसहित जन्मकैदको फैसलालाई कैद सजाय ८ बर्ष ६ महिना कायम गरिदिए । जस अनुसार २०६८ माघ ८ गते पक्राउ परेका कोइरालाले यहि श्रावण ७ गते सजाय भुक्तान गरिसक्छन् ।
के छ ऐनमा व्यवस्था ?
ऐनको दफा १७ (क) मा कम सजाय तोक्ने र राय पेश गर्ने : (१) प्रचलित कानुन बमोजिम जन्मकैद गर्नु पर्ने मुद्दाको अभियुक्तले कसूर गरेको कुरामा अदालतमा साबित भएको र मिसिल संलग्न प्रमाणबाट त्यस्तो साबिती साँचो देखिएमा निजलाई जन्मकैदको सजाय दिंदा त्यस्तो कसूर गर्दाको परिस्थितिलाई विचार गर्दा न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले घटी सजाय गर्न उपयुक्त देखेमा सोको कारण खुलाई राय सहितको फैसला गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कसूरदारलाई हुनु पर्ने सजायको प्रस्तावसहित पैँतीस दिनभित्र मिसील सहित पुनरावेदन सुन्ने अदालतमा राय पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम राय पेश भएको विषयमा पुनरावेदन सुन्ने अदालतले पनि घटी सजाय गर्ने ठहर गरेकोमा सर्वोच्च अदालतमा राय पेश गर्नु पर्नेछ ।
ऐनमा भएको उल्लेखित व्यवस्था बमोजिम अदालतमा आफ्नो अपराध स्विकार गरेको हुनु पर्ने व्यवस्था भएपनि कोइरालाले अपराध स्विकार गरेका छैनन् । तथापि न्याधिशलाई रञ्जनको परिवारकै विचल्ली हुने चित्तमा लागे पछि उनले सजायमा कटौती गरी ८ वर्ष ६ महिना कायम भयो ।
उक्त मुद्दाको फैसला खण्डको ८२ नम्बर बुँदामा ‘पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने हो कि भन्ने सम्बन्धमा विचार गर्दा मृतक गीता ढकाल (कोइराला) र पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालाबीच २०५० सालमा विवाह भै निजहरुबाट १४ वर्षका आयूष कोइराला र ११ वर्षका आर्यन कोइराला गरी दुई छोराहरुको जायजन्म भएपश्चात् निज छोराहरुको आमा गीता ढकाल (कोइराला) को मिति २०६८ पुष २७ मा पुनरावेदक प्रतिवादीको कर्तव्यबाट मृत्यु भएको देखियो ।
मिसिल संलग्न प्रमाण कागजहरुबाट मृतक र पुनरावेदक प्रतिवादीबाट दुई छोराहरुको जायजन्म भएपछि निजहरु बीचको दाम्पत्य जीवन सुमधुर हुन नसकी दुबै जना एक अर्काबाट लामो समयदेखि अलग अलग घरमा बस्दै आएको अवस्थामा मिति २०६८।९।२७ गतेका दिन मृतक बस्ने घरमा प्रतिवादी रञ्जनप्रसाद कोइराला जाँदा मृतक श्रीमती गीता ढकालले व्यापारको लागि पैसा मागेको कारणबाट उठेको विवादमा दुवै जना बीच झै–झगडा वादविवाद हुँदा सो अवस्थामा रीस उठी आवेगमा आई पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालाले गीता ढकाल कोइरालालाई धकेल्दा टाउको भित्तामा ठोकिई मृत्यु भएको, वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आइ उठेको रीसबाट भएको भन्नेसम्मको अवस्था देखिनुको साथै निजको मृत्युपश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण शिक्षा, दीक्षा लगायतका कार्यहरु अभिभावकविहीनताको कारणले अनिश्चय र अन्योलता हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साविक मुलुकी ऐन, अ।बं। १८८ नं। तथा हाल प्रचलित फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।’
फैसला अनुसार गीताको हत्या योजनाबद्ध नभई आवेगमा भएको ठहर सर्वोच्चले गरेको देखिन्छ ।
त्यस्तै बलिग भैसकेको छोराहरुलाई नाबालक ठहर गरी हेरचाह र संरक्षण गर्न सजाय कम गरेको फैसलाको बुँदा नम्बर ८२ मा उल्लेख छ ।
‘निजको मृत्यु पश्चात् नाबालक छोराहरुको हेरचाह, संरक्षण शिक्षा, दीक्षा लगायतका कार्यहरु अभिभावक विहिनताको कारणले अनिश्चय र अन्योलता हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साविक मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पुरा हुने देखिएकोले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’
सर्बोच्चले ८ बर्ष अघि मुद्दा दर्ता हुदा उल्लेख भएको छोराहरुको उमेरलाईनै आधार मानेर नावालक र अभिभावकविहीनताको अवस्था भनेको छ । रञ्जनको जेठो छोरा हाल २२ वर्षको भए भने, कान्छा छोरा पनि १८ वर्ष भइसकेका छन् । नेपालको कानुनले १८ वर्ष पुगेपछि बालिग मान्छ । तर सर्बोच्चले मुद्दा सुरु भएदेखि हालसम्मको उमेर जोडेको छैन ।
हेर्नुहाेस् फैसलाकाे पुर्ण पाठ
http://www.supremecourt.gov.np/cp/assets/downloads/supreme_158391.pdf
के थियो रञ्जनको अपराध ?
२०५० सालमा रञ्जन र गीताको मागी विवाह भएको थियो । विवाहपश्चात गीता र रञ्जनको दुई सन्तान पनि जन्मिएका थिए । तर पछि रञ्जन र गीताको सम्बन्धमा खटपट आएको थियो । खटपटपछि रञ्जन जेठा छोरा आयुषलाई लिएर नागार्जुन नगरपालिकामा रहेको घरमा बस्थे भने गीता बुढानिलकण्ठस्थित आफ्नै नाममा रहेको घरमा कान्छो छोरा आर्यनसँग बस्ने गरेकी थिइन् ।
तत्कालीन सशस्त्र प्रहरी बलको डिआइजी रहेका रञ्जनप्रसाद कोइरालालाई नेपाल सरकारले नेशन डिफेन्स कोर्स अध्ययनका लागि २०६८ साल भदौ महिनामा चीनमा पठाएको थियो । उनी चीनमै रहेको समयमा नेपाल सरकार र सशस्त्र प्रहरी लाई समेत कुनै जानकारी नदिइ २०६८ पुषको २१ गते नेपाल आउँछन् ।
नेपाल आएको पहिलो दिन कोइराला प्रेमिका तारा रेग्मीको फ्ल्याटमा गएर बस्छन् । ३ दिन रञ्जन र तारासँगै हुन्छन् । पुष २६ गते रञ्जनकी प्रेमिका तारा मलेसिया जान्छिन् । यता, पुषको २७ गते रञ्जन श्रीमती गीता ढकाल बस्ने गरेको बुढानिलकण्ठमा रहेको घरमा कान्छो छोरा आर्यनलाई लिनका लागि जान्छन् ।
गीता बस्ने गरेको घरमा रञ्जन आफ्ना ड्राइभर र जेठो छोरा आयुषसँगै गएको देखिन्छ । त्यसपछि आफूले चीनबाट ल्याइदिएको कपडा कान्छो छोरा आर्यनलाई दिइ केही समय बसी कान्छो छोरालाई लिएर फर्किएको देखिन्छ । त्यसपछि दुबै छोराहरुलाई टेनिस खेल्नका लागि हल्चोकमा छाडेर रञ्जन बाहिर निस्किन्छन् ।
रञ्जनको बयानलाई आधार मान्ने हो भने त्यही दिन दिउँसो गीताले रञ्जनलाई फोन गरी केही काम छ भनी बोलाइपछि गीता बस्ने गरेको घरमा गएको देखिन्छ । त्यहाँ गीताले व्यापारका लागि भन्दै ५ लाख रकम मागेको र आफूले छैन भन्दा हात हालाहालको अवस्था आएको रञ्जनको दाबी छ ।
त्यही हात हालाहालाको अवस्थामा आफूले धकेल्दा गीताको टाउको भित्तामा ठोक्किएको थियो । त्यसपछि उनी बेहोस भएको र करिब १० मिनेटसम्म पनि नउठेपछि हेर्दा गीताको मृत्यु भएको रञ्जनले सरकारी वकिल समक्ष गरेको बयानमा उल्लेख छ ।
गीताको मृत्यु भएपछि आफू आत्तिएको र गीताको शवलाई नष्ट गराउने र प्रमाण नष्ट गराउने क्रममा मकवानपुरको टिष्टुङमा लागि शव नष्ट गर्ने प्रयास गरेको उनले बताएका छन् । सरकारी वकिलसमक्ष रञ्जनले गरेको बयानमा गीताको योजनावद्ध हत्या नभई भवितव्य मृत्यु वा आवेशप्रेरित मृत्यु भएको बयान दिएका थिए ।
रञ्जनले गीताको हत्या योजनावद्ध हत्या नभएर भवितव्य मृत्यु भएको भन्दै अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको भएपनि गीताको हत्यामा रञ्जनको संलग्नता हेर्ने हो भने उक्त हत्या भवितव्य वा आवेशप्रेरित नभएर योजनावद्ध हत्या भएको तथ्य प्रमाणहरु केलाउँदा देखिन आउँछ ।
किनभने रञ्जनले पुष २७ गते बिहानै डिजेल र पेट्रोल किन्नका लागि दुईवटा ग्यालिन खरिद गरेका छन् । उक्त ग्यालिनमा रञ्जनका बडिगार्ड तथा ड्राइभरले पेट्रोल र डिजल खरिद गरेका थिए ।
त्यसैगरी पुष २७ गते कान्छो छोरालाई गीता बस्ने घरबाट आफू बस्ने घरमा ल्याउनु पर्ने कारणले पनि रञ्जनले गीताको हत्याको योजना बनाएका थिए भन्ने बुझिन्छ ।
त्यसो त रञ्जनकी प्रेमिका तारा रेग्मीले पनि अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा ‘रञ्जनले आफूसँग भएको कुराकानीका क्रममा गीता ढकालको हत्या गरेको अपराध स्वीकार गरेको’ बताएकी छिन् । त्यति मात्रै होइन, रञ्जनले घटना हुनुभन्दा धेरै पहिले नै गीतासँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिसकेका थिए भने उनी तारा रेग्मीसँगै बस्न थालेका थिए ।
तर गीताले सम्बन्धबिच्छेद गर्न नमानी मानाचामलको मुद्दा दायर गरेकी थिइन् । यी विविध कारणहरुबाट पनि रञ्जन गीतालाई आफ्नो बाटोबाट हटाउन चाहन्थे भन्ने शंका गर्ने आधारहरु देखिन्छ । त्यसबाहेक गीताको माइतीले दिएको जग्गामा बनेको गीता बस्ने घर पनि हत्याउन चाहन्थे ।
रञ्जनले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा कसुर स्वीकार गरेको भएपनि अदालतमा गरेको बयानमा भने अपराध स्वीकार गरेनन् । यद्यपि जिल्ला अदालत काठमाडौँले प्राप्त प्रमाणका आधारमा कोइरालाले अपराध गरेको भन्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो ।
जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गरेका रञ्जनलाई पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गर्दै सजाय सुनाएकाे थियाे ।