• आइतबार, साउन १० २०८३

लगातारको वर्षातले जनजीवन प्रभावित, बिभिन्न स्थानमा सडक, घर, खेत बगायाे


मंगलबार, साउन ६ २०७७
1.3K
Shares

गोरखा । लगातारको वर्षाले गोरखाको जनजीवन पूर्ण रुपले प्रभावित बनेको छ । आइतबार राती देखि परेको अबिरल पानीले जिल्लाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।

गोरखा आँबुखैरेनी (अमरसिंह मार्ग) सँगै जिल्लाका अधिकाश ग्रामिण सडकको विभिन्न ठाउँमा पहिरो गएका छन् । स्थानीय र प्रहरीको संक्रियतामा एकतर्फी सडक खुलाइएपनि अबरोध हटाउन सकिएको छैन ।

त्यस्तै गोरखा नगरपालिका १३ तीनकिलोका भीमबहादुर मगरको घरमा पहिरोले क्षति गरेको स्थानीयले बताएका छन् । पालुङ्टार नगरपालिका ९ बिर्दीका एक दर्जन भन्दा बढि घर जोखिममा परेका छन् । खारखोलामा आएको बाढि बस्ती कटान गर्न थालेको स्थानीय रामकुमार श्रेष्ठले जानकारी दिए ।

दरौंदी, भसुण्डे, खारखोला, चेपे÷मस्र्याङदी, बुढीगण्डकी नदीमा आएको बाढीका कारण भर्खरै रोपिएको धान खेति समेत बाढीले बगाएको किसानहरुले गुनासो गरेका छन् ।

लुँइटेल भन्ज्याङ हर्मी भच्चेक सडकको चिउरीबोट खण्डमा पहिरो जाँदा उक्त सडक पूर्ण रुपमा अबरुद्ध भएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

यसैगरी १२ किलो बारपाक सडकको नयाँसाँघु भालुस्वाँरा सडक खण्ड स्थित मुसे खोला नजिकै पहिरो गएको स्थानीयले बताएका छन् । उक्त सडकको तीन ठाउँमा ठूला र एक दर्जन भन्दा बढि साना खालका पहिरो गएका छन् ।

पहिरोले गण्डकी गाउँपालिका २ पातिस्वाँराको एक कच्ची सडक भासिदा स्थानीय खड्गबहादुर परियारको घर बस्न नमिल्ने गरी भत्किएको छ ।

उनको गोठमा रहेका ५ बाख्रा र १७ वटा कुखुरा पनि पुरिएका छन् । सोही ठाउँका खड्गबहादुर गुरुङको २ वटा बाख्रा मरेका छन् । मानबहादुर परियारको बा ७० प ५०८० नम्बरको मोटरसाइकल पुरिएको छ ।

धनबहादुर गुरुङको गोठ, अन्य एक व्यक्तिको गोठ, ट्वाइलेट समेत भत्किएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ । सो क्षेत्रका करिब ५० घरका २०० जना स्थानीय पुरानो गाबिस भवनमा आश्रय लिन पुगेका छन् ।

उनीहरुको घर पहिरोको उच्च जोखिममा परेपछि त्यहाँ सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । अजिरकोट गाउँपालिका ४ माउसुलिका रामबहादुर मगरको घर भत्किएको छ ।

उनको परिवार अहिले छिमेकीकोमा आश्रय लिइरहेको छ । सिरानचोक १ चयनपुरकी धनी तमाङको घर पहिरोको जोखिममा परेको छ । सोही ठाउँकी पूर्णकुमारी तमाङको गोठ भत्किदा ७ वटा बाख्रा मरेका छन् ।

वडा नम्बर ८ जौवारीका एकबहादुर बिकको घर भत्किएपछि उनको परिवारलाई छिमेकीकोमा सारिएको छ । बारपाक सुलीकोट गाउँपालिका ४ नालपाङ जौबारीका काम गुरुङ र बिसन गुरुङको घर पनि पहिरोले बगाएको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार