काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ बाट नेपाल मुस्लिम संघका केन्द्रीय उपसभापति महमद जबार दिन मिया (मुन्ना) ले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । मुस्लिम क्लष्टरबाट उनले महाधिवेशन प्रतिनिधी पदमा उम्मेदवारी दिएका हुन् ।
लामो समयदेखि नेपाली कांग्रेस तथा मुस्लिम संघको संगठन निर्माण र सुदृढीकरणमा सक्रिय रहँदै आएका मियाँले क्षेत्रीय प्रतिनिधिहरूसमक्ष आफ्नो पक्षमा लागि मत, साथ र समर्थनको अपिल गरेका छन्।
१४औँ महाधिवेशनबाट महासमिति सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसकेका मियाँले पार्टीले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्हालेको अनुभव रहेको बताएका छन्। नेपाल मुस्लिम संघको केन्द्रीय नेतृत्वमा रहेका उनि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघसँग समेत आबद्ध छन्।
उम्मेदवारी घोषणा गर्दै मियाँले पार्टीभित्रको समावेशी प्रतिनिधित्वलाई थप सुदृढ बनाउने, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने तथा संगठनलाई थप गतिशील र मजबुत बनाउने प्रतिबद्धता व्यक्त समेत गरेका छन्।
आम कार्यकर्ता र तल्लो तहका पार्टी सदस्यका आवाजलाई पार्टीको नीतिगत तहसम्म प्रभावकारी रूपमा पुर्याउनु आफ्नो प्रमुख प्राथमिकता रहेको उनको भनाई छ। पार्टी संगठनलाई जनमुखी र कार्यकर्तामैत्री बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए ।
सामाजिक सञ्जालमार्फत क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै मियाँले महाधिवेशनलाई पार्टीको नीति, नेतृत्व र आगामी दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अवसरका रूपमा उल्लेख गर्दै आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गरेका छन् ।
“क्षेत्रीय प्रतिनिधिहरूको विश्वास, साथ र समर्थनलाई पार्टी र समाजप्रतिको जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने शक्तिका रूपमा लिएको छु,” मियाले भनेका छन् ।
उनि तनहुँमा राजनीतिकर्मीका रुपमा मात्रै नभई समाजसेविका रुपमा समेत परिचित छन् ।