गोरखा । जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको छ । संक्रमण कम र निको हुने दर बढि भएसँगै यहाँका आइसोलेशनहरु खाली हुन थालेका छन् ।
विगत एक साता यता एउटा पनि नयाँ संक्रमण देखिएको छैन । आइसोलेशनमा भएकाहरु धमाधम निको भएर घर फर्किरहेका छन् । आइतबार गोरखा क्याम्पसको आइसोलेशनबाट रहेका ५ निको भएका छन ।
गोरखा नगरपालिका ७ का ५३ वर्षीय १ पुरुष, पालुङटार नगरपालिका ७ की २० र ४६ वर्षीय २ महिला र २३ बर्षका १ पुरुष कोरोनामुक्त भएका हुन् । शहिद लखन गाउँपालिका ९ का ३५ वर्षीय १ पनि निको भएर घर फर्किएको मेडिकल अधिकृत डा.कमलराज रोकाले जानकारी दिए ।
उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्न र केही समस्या आए स्वास्थ्य संस्थामा सम्र्पक गर्न आग्रह गरी घर पठाइएको गोरखा नगरपालिकाका स्वस्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।
योसँगै डिस्चार्ज हुनेको संख्या ९१ पुगेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए । गोरखा क्याम्पसमा ६, जिल्ला अस्पताल गोरखामा ३ र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा १ गरी १० जना भने अहिले पनि स्वास्थ्य लाभ गरिहेका छन् ।
उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अधिकाशंको दोश्रो पिसिआर रिर्पोट पनि नेगेटिभ आएकाले केहि दिन भित्र छोड्ने तयारी छ । जिल्लामा हालसम्म २ हजार २३२ जनाको पिसिआर परीक्षण गरिएको छ ।
जसमा १ हजार ५९१ जनाको रिर्पोट नेगेटिभ आएको छ । अब ५३९ जनाको रिर्पोट आउन बाँकी छ । संक्रमणका कारण कतारबाट फर्किएका एक पूरुषको उपचारको क्रममा मृत्यु भएको थियो । हालसम्म गोरखा जिल्लामै १०१ र उपचारका लागि चितवन पुगेकी १ महिला गरी १०२ जनामा कोरोना संक्रमण देखिएको छ ।
लकडाउन खुकुलो भएसँगै अहिले विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट आएकाहरु होमक्वारेन्टिन तथा होटल क्वारेन्टिनमा बसिरहेका छन् । होटल क्वारेन्टिनमा बस्नेको पिसिआर परीक्षण भएपनि होम क्वारेन्टिनमा बस्नेहरुबाट समुदायमा संक्रमण फैलन सक्ने सम्भावना अझै बाँकी रहेकाले सचेत रहनु पर्ने विज्ञहरुको सुझाव छ ।