गोरखा । मनकामना मन्दिर परिसरमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । मनकामना क्षेत्र विकास समिति र सहिदलखन गाउँपालिकाको संयुक्त साझेदारीमा मनकामना मन्दिर परिसरमा भक्तजनहरूलाई लक्षित गरी स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
मनकामना मन्दिर क्षेत्रमा आउने भक्तजन तथा दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको समितिका कार्यकारी निर्देशक अन्जन वस्न्यातले बताए। बुधबार आयोजित एक कार्यक्रमबीच स्वास्थ्य सहायता कक्षको औपचारिक उद्घाटन गर्दै सेवा शुभारम्भ गरिएको हो।
सहायता कक्ष सञ्चालनसँगै मनकामना दर्शनका लागि आउने श्रद्धालु तथा पर्यटकले आकस्मिक स्वास्थ्य समस्या परेमा तत्काल प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
उद्घाटन कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, वडा नं २ की वडाध्यक्ष सकुन थापा मगर, वडा नं ३ का वडाध्यक्ष दीपक पाण्डे, वडा नम्बर ४ का वडाध्यक्ष याम बहादुर थापा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष काजी बाबु श्रेष्ठ, तथा मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचन लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
सहिदलखन गाउँपालिकाले जनशक्ति व्यवस्थापन गर्ने र मनकामना क्षेत्र विकास समितिले अन्य सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिने गरी यस कक्षको स्थापना गरिएको हो। यस कक्षका लागि आवश्यक मेडिकल सामग्री सहयोग मनकामना दर्शन प्रालिले गरेको बताइएको छ ।