• आइतबार, साउन १७ २०८३

अमरसिंह थापाको इतिहास संरक्षणमा योगदान गर्ने राजु गुरुङलाई राष्ट्रिय सम्मान


आइतबार, साउन १७ २०८३
195
Shares

गोरखा। राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष राजु गुरुङ सम्मानित भएका छन्।

शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले गुरुङलाई सम्मान गरेको हो। सिरानचोक गाउँपालिकाको अध्यक्षका रूपमा कार्यभार सम्हाल्दा राष्ट्रिय विभूति अमरसिंह थापाको ऐतिहासिक योगदानलाई संरक्षण, प्रवर्द्धन र भावी पुस्तासम्म पुर्‍याउने अभियानमा उनले पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रतिष्ठानले उनलाई सम्मान प्रदान गरेको जनाएको छ।

प्रतिष्ठानका अनुसार गुरुङको नेतृत्वमा अमरसिंह थापाका पिता उमराव बाघ भिमसेन थापासँग सम्बन्धित सिरानचोकस्थित ऐतिहासिक किल्लाको संरक्षण, बडाकाजी अमरसिंह थापाको शालिक स्थापना, तथा गाउँपालिकामा अमरसिंह थापाको स्मृति दिवसमा सार्वजनिक बिदा दिने परम्पराको थालनी जस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्वका कार्य सम्पन्न भएका थिए।

सम्मानपत्रमा उल्लेख छ, “राष्ट्रको इतिहास, संस्कृति र गौरवको संरक्षण तथा राष्ट्रिय विभूति अमरसिंह थापाको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउने अभियानमा यहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै यो सम्मानपत्र प्रदान गरिएको हो।”

सिरानचोक गाउँपालिका–७ निवासी अधिवक्ता समेत रहेका गुरुङले स्थानीय तहबाट राष्ट्रिय विभूतिको सम्मान र संरक्षणका लागि थालेका पहलले इतिहासप्रति नयाँ पुस्तामा जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानले जनाएको छ।

यस सम्मानले राष्ट्रिय विभूति अमरसिंह थापाको ऐतिहासिक विरासत संरक्षणमा स्थानीय तहको नेतृत्वले खेलेको भूमिकालाई थप उजागर गरेको विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार