• सोमबार, साउन ११ २०८३

आयआर्जनमा सघाउन भिमसेनथापाका महिला समूहलाई सम्भव नेपालको मल्टिप्रपोज मिल र बाजा सहयोग


सोमबार, साउन ११ २०८३
215
Shares

गोरखा । महिला समूहहरूको सशक्तिकरण, संस्थागत विकास, स्वरोजगार तथा आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले सम्भव नेपालले गोरखाको भिमसेनथापा गाउँपालिकाका विभिन्न वडाका महिला समूहलाई मल्टिप्रपोज मिल, बाजा तथा पोशाक सहयोग गरेको छ।

आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा स्थानीय आवश्यकता र महिला समूहहरूको मागका आधारमा सामग्री वितरण गरिएको सम्भव नेपालका कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले जानकारी दिए। उनका अनुसार यस्ता सहयोगले महिला समूहहरूको क्षमता अभिवृद्धि, आयमूलक गतिविधि विस्तार तथा सामुदायिक सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत भिमसेनथापा गाउँपालिका–१ स्थित नवदुर्गा महिला समूह र वडा नं ३ को प्रगतिशील महिला समूहलाई बाजा र पोशाक हस्तान्तरण गरिएको छ। त्यस्तै वडा नं २ को गणेश हिमाल महिला समूह तथा वडा नं १ को स्वरोजगार महिला समूहलाई मल्टिप्रपोज मिल प्रदान गरिएको हो।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष अमृता वस्तीले प्राप्त सामग्रीले महिलाहरूलाई स्वरोजगारतर्फ अग्रसर गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। गाउँपालिकाले यसअघि पनि केही महिला समूहलाई बाजा उपलब्ध गराएको स्मरण गर्दै उनले ती सामग्रीको उपयोगबाट महिलाहरूले आयआर्जन गर्न थालेको जानकारी दिइन्। सम्भव नेपालको सहयोगले महिला सशक्तिकरण र आर्थिक आत्मनिर्भरताको अभियानलाई थप बल पुगेको उल्लेख गर्दै उनले यसअघि संस्थाबाट प्राप्त विभिन्न सामग्रीले स्थानीय समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत सकारात्मक योगदान पुर्‍याएको बताइन्।

प्रेमकुमार खत्रीको नेतृत्वमा रहेको सम्भव नेपालले विगत डेढ दशकदेखि गोरखा जिल्लाका सयौं महिला समूहलाई उनीहरूको आवश्यकता अनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ। संस्थाका अनुसार यस्ता कार्यक्रमले महिला उद्यमशीलता विकास, संस्थागत सुदृढीकरण, स्वरोजगार प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा उल्लेखनीय योगदान पुर्‍याइरहेका छन्।

केहि दिनअघि आरुघाटका २९ र चुमनुब्रीका १४ महिला समुहलाई कुर्सि, टेबल, टेण्ट, भाडाकुडा, साउण्डसिस्टम लगायतका सामाग्री सहयोग गरेको सम्भव नेपालले आगामी दिनमा पनि समुदायको आवश्यकता, स्थानीय साझेदारी र सहकार्यका आधारमा महिला लक्षित कार्यक्रमलाई अझ प्रभावकारी र विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

संस्थाका संस्थापक खत्री गत फाागुन २१ मा सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । निर्वाचनमा पराजित बनेपनि नागरिकसमक्ष गरेका प्रतिवद्धतालाई क्रमशैसंग पूरा गर्ने अभियानमा उनि रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार