काठमाडौं । आफ्ना प्रियजनहरूलाई सदाका लागि सम्झनामा राख्न र उनीहरूप्रति श्रद्धा अर्पण गर्न प्रविधिको प्रयोग गर्दै ‘हार्दिक श्रद्धाञ्जली’ एप सार्वजनिक भएको छ। आइटी विज्ञ विश्वराज पौडेलले आफ्ना बुवाको स्मृतिमा एआई प्रविधिको सहयोगमा यो एप विकास गरेका हुन् । यो एपले श्रद्धाञ्जली दिने र स्मृति जोगाउने कार्यलाई थप व्यवस्थित र सरल बनाएको छ।
‘हार्दिक श्रद्धाञ्जली’ एप हाम्रा जीवनबाट बिदा भएका प्रियजनहरूको सम्झनालाई सम्मानका साथ सुरक्षित राख्ने उद्देश्यले विकास गरिएको एक डिजिटल मञ्च हो। ‘परम्परागत शैलीमा श्रद्धाञ्जली दिने प्रक्रियालाई आधुनिक र डिजिटल स्वरूप प्रदान गर्न यो एप प्रभावकारी बन्ने अपेक्षा लिएको छु’ पौडेल भनेका छन् ‘यसको इन्टरफेस अत्यन्त सरल र सहज छ, जसले गर्दा जो कोहीले पनि सजिलै चलाउन सक्छन्।’
एपको माध्यमबाट केही क्षणमै सुन्दर श्रद्धाञ्जली फ्रेम तयार पार्न सकिन्छ र प्रयोगकर्ताले आफ्नै फोटो राखेर श्रद्धाञ्जली डिजाइन गर्न सक्ने सुविधा छ। साथै, मलामीको डिजिटल रेकर्ड सुरक्षित रूपमा राख्न र व्यवस्थापन गर्न पनि सकिन्छ। यो एप नेपाली, हिन्दी र अंग्रेजी गरी तीनवटा भाषाहरूमा प्रयोग गर्न मिल्छ।
आफ्ना पितृ तथा बिदा भएका प्रियजनहरूको स्मृतिलाई सम्मानपूर्वक जोगाइराख्न यो एप एउटा महत्त्वपूर्ण डिजिटल प्रयास बनेको छ। प्रयोगकर्ताहरूमाझ यसको लोकप्रियता बढ्दै गएको छ र छोटो समयमै हालसम्म १० हजारभन्दा बढी पटक यो एप डाउनलोड भइसकेको छ। प्रविधि र भावनाको मिश्रणले भरिएको यो एपले शोकाकुल परिवारलाई आफ्ना प्रियजनका सम्झनाहरू सधैं ताजा राख्न मद्दत गरिरहेको छ।
युटुवमा ‘टेक्नोलोजी च्यानल’ मार्फत सूचना, प्रविधी तथा एआई सम्बन्धी नयाँ र अपडेटेड जानकारी र सिकाईका सामाग्री पस्किदै आएका पौडेलेले अनलाइन मार्फत नै एआई सम्बन्धी तालिम समेत प्रदान गर्दै आएका छन् ।
एप डाउनलोड गर्नका लागि: https://play.google.com/store/apps/details?id=com.thulotechnology.hardik_shradhanjali