गोरखा । गोरखा नगरपालिकाले नगरक्षेत्रका २५ विद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान गरेको छ । नगर प्रमुख छात्रवृत्ति कार्यक्रम अन्तरगत नगरपालिकाले कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने बिभिन्न विद्यालयका २५ विद्यार्थीलाई नगद १० हजारका दरले आर्थिक सहायता प्रदान गरेको हो ।
आइतबार नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले १४ विद्यालयका २५ जनालाई सो छात्रबृत्ति हस्तान्तरण गरेका हुन ।
छात्रबृत्ति वितरणका लागि नगरपालिकाले अघिल्लो बर्ष निर्माण गरेको मापदण्ड अनुसार प्रत्येक विद्यालयले सिफारिस गरेका विद्यार्थीलाई छात्रबृत्ति समितिको छनौटमा प्रत्येकलाई १० हजारका दरले गरी २ लाख ५० हजार रकम वितरण गरिएको शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम बरालले बताए ।

छात्रवृत्तिका लागि मापदण्डभित्र पर्न कक्षा ८ को नगरस्तरिय परिक्षामा दलित, जनजाती, सिमान्तकृत लगायतबाट ३ दशमलव २ माथी अंक प्राप्त गर्नुपर्ने हुन्छ । त्यस्तै अन्य समुदाय व्राह्मण, क्षेत्री, मुस्लिम लगायतबाट भने ३ दशमलव ६ भन्दा माथी अंक प्राप्त गर्नेलाई विद्यालयले छात्रवृत्तिका लागि सिफारिस गर्न पाउने प्रावधान छ ।
आर्थिक बर्ष २०७६/७७ को स्विकृत बजेटबाट १४ विद्यालयका विद्यार्थीले नगरप्रमुख छात्रवृत्ति पाउन सफल भएका छन् । जसमा बालबन्दिर माविका एक जना, जनज्योती माविका १, महालक्ष्मी मावि लक्ष्मीबजारका ३, महेन्द्र मावीका १ जना रहेका छन् ।
त्यस्तै महेन्द्रज्योती माविका ५, नवज्योती माविका २, रामशाह माविका १, रत्नलक्ष्मी माविका १ र रत्नराज्य लक्ष्मी माविका १ जनाले छात्रवृत्ति पाएका हुन । यसैगरी नगरप्रमुख छात्रवृत्ति पाउनेमा सरस्वती मावि आहालेका ५ जना, सरस्वती मावि फिनामका १, शक्ति माविका १, तारा माविका १ र विन्दवासीनी माविका १ जना रहेको शिक्षा शाखाका श्रोत शिक्षक ध्रुवराज अर्यालले जानकारी दिए ।
लघु अनुसन्धानमा उत्कृष्ट दश शिक्षक सम्मानित
त्यस्तै कार्यक्रमकै अवसरमा नगरपालिकाले १० जना शिक्षकलाई सम्मान समेत गरेको छ । बार्षिक कार्यक्रम अन्तरगत प्रस्तावनाको आधारमा लघु अनुसन्धान सहायता कार्यक्रममा सहभागी उत्कृष्ट दश जना शिक्षकलाई नगद १० हजार प्रोत्साहन रकम सहित नगरप्रमुख राजनराज पन्त, उपप्रमुख विना कुमारी श्रेष्ठले सम्मान गरेका हुन ।

सम्मानित हुनेहरुमा विन्दवासी माविका उदयबहादुर भट्ट, गणेशराज सापकोटा, महालक्ष्मी मावि लक्ष्मीबजारका टेकबहादुर उपरकोटी, कोपिला पौडेल, महेन्द्र माविका गोपालबाबु मरहट्टा, रत्नलक्ष्मी माविका अनिल लामिछाने, सरस्वती मावि आहालेका पुरुषेत्तम भट्टराई र दुर्गा अधिकारी रहेका छन् ।
त्यस्तै नजज्योती माविका अर्जुन प्रसाद देवकोटा, ढुंगागाडे माविका सीता खत्री समेत लघु अनुसन्धानमा उत्कृष्ट हुदै सम्मानित भएका छन् ।