गोरखा । बारपाक सुलिकोट गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो तथा महत्वपूर्ण ठुलो आँगन ताकुकोट सडक अलपत्र छ । ठुलो आगन–सतिपिपल–नारेश्वर–पाणीनीचौतारा–निवेल–उल्टे–ताकुकोट सडकको दोस्रो खण्ड लामो समयदेखि अलपत्र परेपछि स्थानीय तहले ठेक्का रद्द गर्न गण्डकी प्रदेश सरकारसमक्ष औपचारिक आग्रह गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उक्त विषयमा ध्यानाकर्षण गराउँदै लिखित पत्रसमेत बुझाएका छन् । उक्त सडक खण्ड निर्माणका लागि २०७७ साउन १४ गते अमर/ज्ञानेश जेभी, काठमाडौं सँग २३ करोड ७५ लाख ७७ हजार ६०२ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
सम्झौताअनुसार ३ वर्षभित्र, अर्थात् २०७९ सालमै काम सम्पन्न हुनुपर्ने थियो । तर निर्माण व्यवसायीले समयमै काम नगरेपछि आयोजनाको म्याद दोस्रो पटक २०८२ सालको मंसिरसम्म र तेस्रो पटक २०८३ असार मसान्तसम्मका लागि थप गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।
‘पटक–पटक म्याद थपिए पनि हालसम्म निर्माणको प्रगति अत्यन्तै न्यून रहेको छ,’ उनले भने, ‘जसअन्र्तगत भौतिक प्रगति मात्र १२ प्रतिशत र वित्तीय प्रगति ८।२९ प्रतिशतमा सीमित छ ।’
यसले निर्माण व्यवसायीको गम्भीर लापरवाही र कार्यान्वयनमा कमजोरी देखिएको स्थानीयहरूको भनाइ छ । ‘हामीले २ दर्जन भन्दा बढि प्रदेश मन्त्रालय र पर्वाधार कार्यालयलाई ताकेता गरिसकेयौं, तर काम अघि बढेन् केही भएन्,’ उनले भने, ‘दुईटा टिप्पर राखेर काम गरेको जस्तो मात्र गरेर छोड्छ, ठेक्का तोडेर नया मान्छेलाई दिन पर्यो, यसो गरेनौ भने ।’
निर्माण कार्यलाई तीव्रता दिन स्थानीय जनप्रतिनिधि, सम्बन्धित कार्यालयका कर्मचारी तथा निर्माण व्यवसायीबीच पटक–पटक बैठक र छलफल भए पनि कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा समेत तीन पटक बैठक बसेर समाधान खोज्ने प्रयास गरिएको थियो । तर निर्माण व्यवसायीको उदासीनता, कमजोर कार्यतालिका र कार्यान्वयनमा अभावका कारण आयोजना अझै अलपत्र अवस्थामा रहेको उनको भनाई छ ।
स्थानीय बासिन्दाहरूका अनुसार वर्षायाममा सडकको अवस्था झन् दयनीय बन्छ । हिलाम्मे बाटोका कारण बिरामी बोकेका एम्बुलेन्ससमेत सञ्चालन गर्न नसकिने अवस्था छ भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत समस्या हुँदै आएको छ। यसले स्थानीयलाई ठूलो सास्ती भएको उनीहरूको गुनासो छ ।
गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष बुझाएको पत्रमा निर्माण व्यवसायीबाट काम सम्पन्न हुने सम्भावना न्यून देखिएको उल्लेख गर्दै ठेक्का प्रक्रिया तोडेर कानुनी कारबाही गर्न आग्रह गरिएको छ । साथै, नयाँ विकल्पमार्फत बाँकी सडक खण्ड निर्माण अघि बढाउन प्रदेश सरकार समक्ष माग गरेको छ ।
उक्त सडकको तेस्रो खण्ड मसार–डाडाँगाउँ आहालडाँडा–निर्माण कार्यको लागि आगामी आर्थिक वर्ष २०८३/०८४ को प्रदेश बजेटमा समावेश गरी कार्यान्वयन सुनिश्चित गर्न माग गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि हरूले सडक निर्माण ढिलाईले शिक्षा, स्वास्थ्य, व्यापार तथा समग्र विकासमा गम्भीर असर परेको उल्लेख गर्दै यस समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।
साथै, अब पनि कारबाही नभए जनआक्रोश थप चर्किने चेतावनीसमेत दिइएको छ । ‘केही समय अघि टर्मिनल गर्न भनेर लागेका थियौ, ठेकेदार आएर काम सुरु गरेको छ भनेर केही नगरेको हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘टर्मिनल गर्दा अदालन गएर झमेला गर्छ कि भनेर हो,’ उनले भने, ‘काम अघि नबढाउने गरे जस्तो गरेर मात्र छोड्ने गरेको हो भने तपाईले भने जस्तै गछौं ।’