गोरखा । स्वर्गीय पिता गणेश दत्त पोखरेलको ३६औँ पुण्य तिथिको अवसरमा विनोद पोखरेलले पालुङटार नगरपालिका वडा नं. ४ स्थित श्री भृकुटी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन्।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई कापी, डटपेन, पेन्सिल, इरेजर, कटर, रेकर्ड फाइल, ए-फोर साइज पेपर र जोमेट्री बक्स लगायतका सामग्री वितरण गरिएको हो। उक्त सहयोग करिब ५० हजार रुपैयाँ बराबरको रहेको छ।
शैक्षिक सामग्री वितरणका साथै पोखरेलले एक असहाय बालकको अभिभावकत्व समेत ग्रहण गरेका छन्। बुवाको मृत्यु भएको र आमाले समेत छोडेर गएका बालक संजोग बयलकोटीको कक्षा ५ सम्मको सम्पूर्ण पढाइ खर्च पोखरेलले नै बेहोर्ने घोषणा गरेका हुन्। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यले ती बालकको उज्ज्वल भविष्यका लागि ठुलो भरोसा प्रदान गरेको छ।
विद्यालयका प्रधानाध्यापक तारा जोशीका अनुसार पोखरेल परिवारले विद्यालयको विकासमा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएको छ। यसअघि पनि उनले पुस्तकालय व्यवस्थापनका लागि ५० हजार बराबरको पुस्तक उपलब्ध गराउनुका साथै कोभिडको समयमा स्वास्थ्य सामग्री वितरण, अक्षयकोष स्थापनामा सहयोग र व्यक्तिगत जन्मदिनको अवसरमा समेत विद्यालयलाई आर्थिक सहयोग गर्दै आएका थिए।
पोखरेलले वर्षमा कम्तिमा दुई पटक यस्ता सामाजिक र मानवीय कार्यहरूमा संलग्न हुने संकल्प गरेका छन्। बुवाको स्मृतिमा गरिएको यस मानवीय कार्यले विद्यालय परिवार र स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।