• शुक्रबार, साउन ८ २०८३

गोरखाका विनोद अर्याल ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ बाट सम्मानित


सोमबार, चैत्र ३० २०८२
2K
Shares

काठमाडौँ । नेपालको स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै वरिष्ठ स्वास्थ्यकर्मी विनोद अर्याललाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ बाट सम्मानित गरिएको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो दशौँ वार्षिकोत्सवको विशेष अवसरमा शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य समारोहबीच सो सम्मान प्रदान गरेको हो ।

समारोहकी प्रमुख अतिथि, पूर्वस्वास्थ्यमन्त्री सुधा गौतम शर्माले वरिष्ठ स्वास्थ्यकर्मी अर्याललाई उक्त प्रतिष्ठित हेल्थ अवार्ड प्रदान गरेकी हुन्। अवार्ड हस्तान्तरण गर्दै पूर्वमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा निष्ठापूर्वक सेवा गर्ने व्यक्तित्वहरूको सम्मानले समग्र क्षेत्रलाई नै प्रोत्साहन मिल्ने बताइन्।

कार्यक्रममा स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले गोरखाका ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मी अर्यालले लामो समयदेखि नेपाली स्वास्थ्य, शिक्षा र बिरामी सेवामा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको चर्चा गरेका थिए। अर्यालको समर्पण र सेवाभावलाई राष्ट्रियस्तरमा पहिचान र सम्मान गर्न पाउँदा गौरव महसुस भएको अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

गोरखा सदरमुकामस्थित नयाँबजारमा अर्याल मेडिकल हल र विज्ञान पोलिक्लिनिकका सञ्चालक रहेका अर्यालले ग्रामिण स्वास्थ्य सेवामा दशकौदेखि योगदान पु¥याएकाले सम्मान गरिएको बताइएको छ ।

वार्षिकोत्सव समारोहमा गोरखाका अर्याल लगायत नेपालका सात वटै प्रदेशबाट उत्कृष्ट कार्य गर्ने २० जना चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य पत्रकार र सम्बन्धित संस्थाहरूलाई पनि विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । अध्यक्ष श्रेष्ठले मुलुकभरिबाट योग्य उम्मेदवारहरूको चयन गरी यो अवार्ड प्रदान गरिएको जानकारी दिए ।

विगत एक दशकदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील स्वास्थ्य दर्पण मिडिया नेटवर्कले हरेक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार