• शुक्रबार, साउन ८ २०८३

सांसद देवकोटाको प्रस्तावः गोरखकाली रबर उद्योग ब्युँताउनेदेखि गोरखालाई लिभिङ म्युजियम बनाउनेसम्म


मंगलबार, चैत्र २४ २०८२
1.7K
Shares

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सदस्य सम्झना देवकोटाले जनताका आधारभूत आवश्यकता, विकासका आयोजना र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन्।

आज राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्दै उनले समाजमा बढ्दै गएको घरेलु तथा यौन हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै वास्तविक पीडितको पहिचान गरी न्याय सुनिश्चित गर्न माग गरिन्।

साथै, प्रविधिको दुरुपयोग गरी हुने साइबर बुलिङले व्यक्तिको आत्मसम्मानमा चोट पुर्‍याइरहेको उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन कडा कानुनको आवश्यकतामा उनले जोड दिएकी थिइन्।

आफ्नो गृहजिल्ला गोरखाको समग्र विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै साँसद देवकोटाले गोरखा बजारलाई मनास्लु र चुम भ्याली लगायतका पर्यटकीय गन्तव्यहरूको मुख्य प्रवेशद्वारका रूपमा विकास गर्न प्रस्ताव समेत गरेकी छिन्।

गोरखाको ऐतिहासिक गरिमालाई जोगाउन यसलाई ‘लिभिङ हिस्टोरिकल म्युजियम’ (जीवित ऐतिहासिक सङ्ग्रहालय) का रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। विकासका आयोजनाहरूतर्फ संकेत गर्दै उनले रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योगको पुनर्स्थापना गरी यसको पूर्व गौरव फर्काउन, बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत आयोजनालाई गति दिन र पुष्पलाल मध्यपहाडी लोकमार्गमा सार्वजनिक यातायात शीघ्र सञ्चालन गर्न सरकारसँग माग गरिन्।

नेपाललाई प्राकृतिक, धार्मिक र आध्यात्मिक पर्यटनको संगमस्थल (मेल्टिङ पट) का रूपमा विश्वभर चिनाउनुपर्ने र यहाँको अमूल्य जडीबुटी तथा आयुर्वेदलाई व्यावसायिक रूपमा सशक्त बनाउनुपर्ने धारणा पनि उनले संसदमा राखेकी छिन्।

सम्बोधनको अन्त्यमा उनले वर्तमान राजनीतिक परिस्थितिबारे चर्चा गर्दै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तत्काल रिहाइको माग समेत गर्न भ्याइन्। संसदको रोष्ट्रमबाट जनताका मुद्दाहरू सिधै उठाउन पाउनुलाई उनले एक गौरवपूर्ण अवसरका रूपमा उल्लेख गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार