काठमाडौँ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ भने विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीका लागि दिइएको पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) को गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पहिलो त्रैमासिकको विवरणमा जापान आकर्षणमा परेको छ । जापानी भाषा सिकेर थप पढ्न र काम गर्न जापानमा सहज हुने भएकाले पनि विद्यार्थीको चाप देखिएको हो । केही वर्ष अघिसम्म नेपाली विद्यार्थीको पहिलो रोजाइ अष्ट्रेलिया हुने गरेको थियो ।
यस आर्थिक वर्षको गत १ साउनदेखि असोज मसान्तसम्म कूल २८ हजार ५८५ विद्यार्थीले मन्त्रालयको भक्तपुर (सानोठिमी)स्थित शाखाबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये जापानका लागि नौ हजार ४५३, अष्ट्रेलियाका लागि सात हजार ७३० र संयुक्त अधिराज्य बेलायतका लागि चार हजार ६११ विद्यार्थीले स्वीकृति लिएका छन् । मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखाका प्रमुख वीरेन्द्रजङ्ग थापाले गत फेब्रुअरीमा भएको जापानी भाषा परीक्षाका कारण पछिल्ला दिनमा जापान जाने विद्यार्थी बढेको बताए।
उनले आज केही समय ‘एनआइडिसी’ को ‘सिस्टम डाउन’ भएकाले विद्यार्थीलाई छिटो सेवा दिन नसकिएको बताउँदै ‘अनलाइन’ प्रणालीका आधारमा एनओसी सेवा पाउन आवेदन दिन र स्वीकृतिको प्रणाली विकास गरिएकाले कागजात पूरा गरिएका आवेदकहरूको पालोअनुसार स्वीकृति हुने बताए।
गत आर्थिक वर्ष २०८१/०८२ मा ८४ देशका लागि जम्मा एक लाख २३ हजार ५८९ ले विदेश पढ्नका लागि स्वीकृति लिएका थिए । स्वीकृति लिएकामा जापानका लागि अत्यधिक ३९ हजार ८४७ रहेका छन् । यस्तै उत्कृष्ट पाँच गन्तव्य देखिएको मध्येमा बेलायतका लागि २७ हजार ४७५, अष्ट्रेलियाका लागि १६ हजार २७९, दक्षिण कोरियाका लागि नौ हजार ७५७, संयुक्त राज्य अमेरिकाका लागि आठ हजार ८७० छन्।
अध्ययन गर्ने विषयका आधारमा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन विषयका देखिएका छन् । सो विषयमा एक लाख १६ हजार सात सय ८० विद्यार्थीले गत आर्थिक वर्षमा पूर्वस्वीकृति लिएका छन् । यस्तै सूचना प्रविधि विषयमा ३० हजार ७४४, विज्ञान विषयमा २० हजार ६७४ र हस्पिटालिटीमा १४ हजार २३ विद्यार्थी रहेका छन्।