चितवन । फेन्सी व्यवसायी संघ चितवनले आफ्नो ३८औँ स्थापना दिवसको अवसर पारेर आज भरतपुरमा ४ किलो मिटरको म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ। भरतपुरको पारस बसपार्कबाट सुरु भएको उक्त दौड नारायणगढको पुल्चोक पुगेर समापन भएको थियो।
व्यवसायीहरूबीच आपसी सद्भाव र शारीरिक स्फूर्तिका लागि आयोजना गरिएको यस दौड प्रतियोगितामा देवीराम भट्टराईले प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी बिमल सुवेदीले द्वितीय, सुर्यनारायण मानन्धरले तृतीय र मुक्ति शर्माले सान्त्वना पुरस्कार जित्न सफल भए। करिब ६० जनाको सक्रिय सहभागिता रहेको यस प्रतिस्पर्धाले बजार क्षेत्रमा विशेष रौनक थपेको थियो।
प्रतियोगिताको उद्घाटन समारोह चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरिञ्जीवी सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटनका क्रममा प्रमुख अतिथि सुवेदीले व्यवसायीहरू केवल आर्थिक गतिविधिमा मात्र सीमित नभई स्वास्थ्य र खेलकुद जस्ता रचनात्मक कार्यमा पनि जोडिनुपर्ने धारणा राखे ।
फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संघका विभिन्न तहका पदाधिकारी तथा स्थानीय व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। अध्यक्ष पौडेलले स्थापना दिवसको गरिमालाई उच्च राख्न र व्यवसायीहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
तस्विरः नविन मियाँ