• शुक्रबार, साउन ८ २०८३

इनिसा विक हत्या प्रकरण: उच्चस्तरीय निष्पक्ष छानबिन र ४ बुँदे मागसहित अधिकारकर्मीहरु आन्दोलित


बुधबार, फाल्गुन २७ २०८२
2.3K
Shares

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वर्षीया दलित किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको बीभत्स हत्याको घटनाप्रति ’पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अभियानले यस जघन्य अपराधको घोर भत्र्सना गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै गर्दा घटेको यस्तो अमानवीय र क्रुर कार्यले सभ्य समाज र विधिको शासनको खिल्ली उडाएको अभियानको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, “विश्वभर महिला अधिकारका कुरा भइरहँदा एक दलित बालिकामाथि भएको यो जघन्य अपराध अत्यन्तै दुःखद र निन्दनीय छ । यसले हाम्रो सुरक्षा संयन्त्र र सामाजिक चेतनामाथि ठूलो प्रश्न खडा गरेको छ” ।

अभियानले नेपाल सरकारसमक्ष विभिन्न ४ बुँदे मागहरू अघि सारेको छ,

१. कुनै पनि राजनीतिक वा सामाजिक प्रभावमा नपरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गले उच्चस्तरीय अनुसन्धान गरियोस् ।

२. बलात्कार र हत्यामा संलग्न दोषीहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गरियोस् र ‘नाबालक’ भएको बहानामा अपराधीले उन्मुक्ति पाउने अवस्था सिर्जना नहोस् ।

३. पीडित परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्ति र परिपूरणको व्यवस्था तत्काल गरियोस् ।

४. लैङ्गिक हिंसा र जातीय विभेदका संरचनात्मक कारणहरू अन्त्य गर्न सरकारले तत्कालीन र दीर्घकालीन रणनीतिक कदमहरू चालोस्।

विज्ञप्तिमा नरेन खतिवडा, ओम रम्तेल, कर्ण बहादुर नेपाली, प्रयास अधिकारी, योगेन्द्र विजय दाहाल, भोला भट्टराई, प्रतिमा गुरुङ्ग मन्जु गुरुङ्ग, राम कृष्ण भुजेल, जिया राजभण्डारी, जय गुप्ता, कृष्ण पाण्डे, संजोग ठकुरी, लोकेन्द्र राज गिरी, गणेश धामी, भरत विश्वकर्मा, खगेन्द्र ओली, गंगा कडेल, जिना यादव, भुपेन्द्र शाह, कोमल लक्ष्मी दाहाल, समिर परियार लगायतका अधिकारकर्मीहरुले एकयवद्धता जनाउनु भएको छ ।

अभियानले मृतक इनिसा विकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितले न्याय नपाउन्जेल आन्दोलन र दबाबका कार्यक्रमहरू जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार