प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशमा झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन हुने भएका छन् । तीमध्ये १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक हुन् । १८ फागुनभित्र सबै मतदान अधिकृत तथा सहायक अधिकृतसहितको टोली मतदानस्थलमा पुग्ने तयारी छ ।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार मतपत्रसहितका सबै निर्वाचन सामग्री प्राप्त भई मतदान केन्द्रअनुसार छुट्याएर वितरणको तयारी अवस्थामा राखिएको छ ।
गोरखा, म्याग्दी, मुस्ताङ र मनाङका ३ हजार मिटरभन्दा माथिका मतदान केन्द्रमा खटिने कर्मचारीका निम्ति आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता छन् । प्रदेशमा १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएको छ । अस्थायी मतदाता २१ हजार ६९३ छन् भने १७ अस्थायी मतदान केन्द्र कायम छन् ।
प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । तीमध्ये २९ महिला र २०५ पुरुष छन् । सबैभन्दा बढी कास्कीमा १८ राजनीतिक दल र सबैभन्दा कम मनाङमा ३ दल प्रतिस्पर्धामा छन् ।