गोरखा । लायन्स क्लब अफ गोरखाले पश्चिमकाली मन्दिर क्षेत्रमा बृक्षारोपण गरेको छ । केहि बर्षअघिदेखि बार्षिक कार्यक्रमका रुपमा गोरखा नगरपालिका वडा नम्बर ५ को सो क्षेत्रमा बृक्षारोपण गर्दै आएको क्लबले यस बर्ष ६० वटा बोटबिरुवा रोपेको हो ।
क्लबका अध्यक्ष श्यामबाबु श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
लायन्स क्लब अफ गोरखा कालिका र लियो क्लब अफ गोरखाको सहकार्यमा शनिबार ५ कलमी आँप, ५ कलमी लिची, २० वटा गुल्मोर फुल र ३० वटा तेजपत्ताका बिरुवा रोपिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

क्लबले झण्डै १० बर्षअघिदेखि नियमित रुपमा सो क्षेत्रमा बृक्षारोपण गर्दै आएको र रोपिएका बोटबिरुवाको संरक्षणका लागि समेत हालसम्म २ लाख ८० हजार रकम खर्च गरेको उनले बताए ।
रोपिएका बोटबिरुवा संरक्षणकै लागि भन्दै लायन्स क्लबमा आवद्ध ५४ जनाबाट एक हजार ५ सयका दरले रकम संकलन गरेर हेरचाहका लागि कर्मचारी समेत क्लबले राखेको थियो ।
तर यसबर्षदेखि भने क्लबले मासिक रुपमा क्लबका पदाधिकारी एवं सदस्यहरु सो क्षेत्रमा गएर नियमित रुपमा गोडमेल गर्ने, निरिक्षण गर्ने लगायतका काम गर्ने योजना बनाएको अध्यक्ष श्रेष्ठको भनाई छ ।