काठमाडौं । वैदेशिक रोजगारीका लागि रुस पुगेर त्यहाँको सेनामा भर्ना भएका गोरखाका मदन कुमाल विगत दुई वर्षदेखि युक्रेनको जेलमा रहेका छन्। १० वर्षसम्म नेपाली सेनामा सेवा गरेर राजीनामा दिएका कुमाल राम्रो कमाइको आशमा रुस पुगेका थिए।
गोरखाको भीमसेनथापा गाउँपालिका–बोर्लाङ घर भएका मदनले परिवारलाई जानकारी नदिई रुसको यात्रा तय गरेका थिए। उनी रुस पुगेको नौ दिनपछि मात्रै परिवारले सामाजिक सञ्जाल टिकटकमा उनले सैन्य पोसाक लगाएको भिडियो देखेपछि उनी सेनामा भर्ती भएको थाहा पाएका थिए।
रुस–युक्रेन युद्धका क्रममा कुमाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको थियो। उनीसँगै अन्य ८ जना नेपालीहरू पनि हाल युक्रेनको जेलमा युद्धबन्दीका रूपमा रहेको समाचारहरूमा उल्लेख छ।
मदनको परिवारले उनको उद्धारका लागि सरकारसँग पटक–पटक आग्रह गर्दै आएको छ। मदनकी दिदी कविता कुमालका अनुसार, परिवारले तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर भाइको जीवन रक्षाका लागि पहल गरिदिन अनुरोध गरिसकेको छ। यद्यपि, दुई वर्ष बितिसक्दा पनि उनको रिहाइ र स्वदेश फिर्तीको विषय अझै अनिश्चित छ।
पछिल्लो समय नेपाल सरकारले युक्रेनको जेलमा रहेका नेपालीहरूको रिहाइका लागि कूटनीतिक पहल गरिरहेको बताएको छ।