• शुक्रबार, साउन ८ २०८३

प्रमुख दलहरूले आफ्ना चुनावी घोषणा पत्र कसरी बनाउदै छन् ?


सोमबार, माघ २० २०८२
1.4K
Shares

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना चुनावी घोषणा पत्र तयार गर्ने काम तीव्र पारेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना नीति, कार्यक्रम, फरक–फरक प्राथमिकता र दृष्टिकोणसहित घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

नेपाली कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरी काम अघि बढाएको छ । पार्टीले नेता–कार्यकर्ता, विभिन्न विषयगत क्षेत्रका विज्ञ र जिल्ला–जिल्लाबाट प्राप्त सुझावका आधारमा घोषणा पत्र तयार गरिरहेको छ । माघ अन्तिम साता घोषणा पत्र सार्वजनिक गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार घोषणापत्र ‘भिजन–१०’ मा केन्द्रित हुनेछ र सुशासन, विकास, व्यवहारिक तथा कार्यान्वयनयोग्य कार्यक्रमलाई प्राथमिकता दिइनेछ। घोषणापत्र छोटो हुने र स्रोत तथा कार्यान्वयनका उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने कांग्रेसको दाबी छ ।

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ। समितिले विषयविज्ञहरूसँग छलफल गर्दै पाँच वर्षभित्र कार्यान्वयन गर्न सकिने यथार्थपरक कार्यक्रमलाई घोषणा पत्रमा समेट्ने तयारी गरेको छ। एमालेले पूर्वाधार विकास, आर्थिक समृद्धि, रोजगारी सिर्जना, कृषि उन्नयन, सामाजिक सुरक्षा, ऊर्जा–जलस्रोतको विकास, राजनीतिक स्थायित्व र युवा उद्यमशीलतामा जोड दिने जनाएको छ। पार्टीले महत्त्वाकांक्षी तर अव्यवहारिक प्रतिवद्धता नराख्ने स्पष्ट पारेको छ।

नेकपाले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कमिटी बनाएर एक महिनादेखि घोषणा पत्र लेखनमा काम गरिरहेको छ। विभिन्न विषयगत समूह बनाएर सुशासन, प्रशासन सुधार, शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि र किसान, उद्योग, पर्यटन, सामाजिक सुरक्षा लगायत क्षेत्रका योजना समेटिएको मस्यौदा तयार भइसकेको छ। पार्टीले यथार्थपरक, छोटो र पाँच वर्षभित्र सम्पन्न गर्न सकिने कार्यक्रम समेटिएको घोषणापत्र ल्याउने जनाएको छ। जेनजी आन्दोलनको भावना, भ्रष्टाचारविरुद्धको अभियान र रोजगारी वृद्धिलाई विशेष प्राथमिकता दिइनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन पहिलो साता चुनावी वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको कार्यदलले विज्ञहरूसँग परामर्श गरेर मस्यौदा तयार गरिरहेको छ। रास्वपाको वाचापत्र पाँच पिलरमा आधारित रहनेछ, जसमा भ्रष्टाचार न्यूनीकरण र सुशासन, आर्थिक सुधारसहित गतिशील अर्थतन्त्र, निजी क्षेत्रमैत्री नीतिगत सुधार, पूर्वाधार विकास र दिगो व्यवस्थापन तथा महँगी नियन्त्रण प्रमुख छन्। साथै, जेनजी आन्दोलनका भावना, गैरआवासीय नेपालीका मुद्दा र सरकार बनेपछि सय दिनमा गर्ने सय कामको सूचीसमेत वाचापत्रमा समेटिने पार्टीले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा घोषणा पत्र लेखन गरिरहेको छ। पार्टीका अनुसार केही दिनभित्रै घोषणा पत्र सार्वजनिक गरिनेछ। राप्रपाले राजसंस्था, हिन्दुराष्ट्र, प्रदेश संरचना खारेजी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता आफ्ना मुख्य एजेन्डालाई घोषणापत्रमा समेट्ने तयारी गरेको छ। साथै सामाजिक र आर्थिक रूपान्तरण तथा गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विकल्पमा देश अघि बढाउने मार्गचित्र पनि प्रस्तुत गरिने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार