गोरखा । शहिद लखन गाउँपालिकाको बुंकोटमा दुई दिने निशुल्क मुटु जाँच शिविर सम्पन्न भएको छ । सम्भव नेपालको आयोजनामा शनिबार र आइतबार निशुल्क स्वास्थ्य शिविर भएको हो । जसमा ८ सय ३९ जनाले सेवा लिएका छन् ।
शहिद लखन गाउँपालिका र वडा नम्बर ७ को कार्यालयको समन्वय तथा मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जको प्राविधिक सहयोगमा भएको शिविरको सहयोगी संस्थाका रुपमा भने जयन्ती स्मृती फाउण्डेशन रहेको बताइएको छ ।
दुई दिने शिविरमा सेवा लिएका ८ सय ३९ जनामध्ये ३६८ जनाको इसिजी र ३२० जनाको इको जाँच गरिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै ६०८ जनाको ल्याब परिक्षण गराइएको उनले बताए ।
मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वमा भएको स्वास्थ्य शिविरमा १३ जनाको एनजिओग्राम गर्नुपर्ने भएकाले काठमाडौं रिफर गरिएको छ ।
डा पौडेलका अनुसार एक जनाको मुटुमा प्वाल परेका बिरामी समेत पहिचान भएकाले शल्यक्रियाका लागि सिफारिस गरिएको छ । शिविरमा बिरामीलाई आवस्यकताका आधारमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
बुंकोट स्वास्थ्य चौकीमा आयोजना भएको शिविरमा शहिद लखन गाउँपालिकाका ६, ७, ८, ९ लगायत गोरखा नगरपालिकाका बिभिन्न क्षेत्रका बिरामीहरुले स्वास्थ्य सेवा लिएको सम्भव नेपालका कार्यक्रम ब्यवस्थापक उत्तम अधिकारीले बताए ।
वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको शिविर उद्घाटन तथा समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
शिविरअघि शुक्रबार शहिद लखन गाउँपालिकाले करिब ६ सय जनाको रक्त परिक्षण गर्दै नसर्ने रोगको स्क्रिनिङ गरेको थियो । सोहीका आधारमा शनिबार र आइतबारको शिविरमा उनिहरुको स्वास्थ्य परिक्षण गराइएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्बर ८ का वडाध्यक्ष बासु ढकाल, त्रि.वि. शिक्षण अस्पतालका परशुराम पन्त, नेत्र गुरुङ लगायतको समेत सहभागिता रहेको । शिविर आयोजनाका लागि केन्द्रका पन्त र गुरुङले विशेष समन्वय र सहजीकरण गरेको बताइएको छ ।
आरुघाट स्थित आरुपोखरी स्थायी घर भएका प्रेमकुमार खत्रीको नेतृत्वमा रहेको सम्भव नेपालले यसअघि शहिद लखनसहित जिल्लाभर गरी १३ वटा एम्बुलेन्स समेत निशुल्क दिएको थियो भने बुंकोट स्वास्थ्य चौकीमा लाखौ खर्चेर ल्याबको समेत ब्यवस्थापन गरिदिएको थियो ।
केहि समयअघि मात्रै सो संस्थाले चुमनुब्री गाउँपालिकाका सबै वडाका स्वास्थ्यचौकीमा ल्याव स्थापना र आवस्यक स्वास्थ्य उपकरण र सामाग्री सहयोग गरेको थियो । सो सामाग्री हस्तान्तरणका लागि अध्यक्ष खत्री चुमनुब्रीको बिभिन्न वडा पुगेका थिए ।
सम्भव नेपालले गोरखामा शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, खेलकुद, महिला तथा युवाको नेतृत्व विकास साथै पूवाधारण विकासमा समेत काम गरिएको छ ।