काठमाडौं । नेपालका रणनीतिक सडकको सुधार तथा क्षमता अभिवृद्धिमा विश्व बैंकले ठूलो ऋण सहायता प्रदान गरेको छ । भारतलगायत छिमेकी राष्ट्रसँग सडक सम्पर्क संजाल बिस्तार गर्न र व्यापार अभिवृद्धि गर्न विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ) ऋण सहायता प्रदान गरेको छ ।
विश्व बैंकले रणनैतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाका लागि यो सहायता प्रदान गरेको हो । यससम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भयो ।
विश्व बैंकका अनुसार यो सहयोगको परिचालनबाट कोभिड-१९ पछि आर्थिक गतिविधिलाई बढावा दिनसमेत उल्लेख्य सहयोग पुग्ने भएको छ ।
विश्व बैंकका अनुसार यो रकम नागढुंगा-नौबिसे-मुग्लिङ सडकखण्ड सुधार गर्न प्रयोग गरिने भएको छ । उता, कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउन समेत यो रकमको उपयोग गरिने भएको छ ।
विद्यमान व्यापारिक सेवालाई सहज बनाउन, कृषिजन्य निर्यात प्रवर्द्धन गर्न यस आयोजनाले सीमा-नाकामा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्ने समेत योजना छ ।
कोभिड-१९महामारीका बीच यस आयोजनाले सीमा-नाकामा वस्तु तथा मानिसको जाँच गर्ने प्रक्रियाको सुधार समेत गर्ने भएको छ । यो आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना भएको समेत बैंकले जनाएको छ ।
शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् ।