गोरखा । पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ ।
तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।
इतिहास संरक्षण, नेपाली संस्कृती र परम्पराकाे प्रवर्द्धन गर्ने लक्ष्यसहित विविध गढी, किल्ला, दरबार तथा एकिकरणका दाैरान प्रयाेग भएका मार्गहरुकाे पहिचान, संरक्षण तथा प्रचार प्रसार गर्न याे पदयात्राले टेवा पुग्ने नेपाली सेनाकाे विश्वास छ ।
हरेक बर्ष हुने याे पदयात्रा नेपाली सेनाकाे रूद्रध्वज गण, गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिकाकाे संयुक्त आयाेजनामा हुने गर्दछ ।
सोमबार बिहान ९ बजे गोरखा दरबारबाट सेनाको टोली त्यसतर्फ निस्किएको हो । पश्चिम पृतना हे.क्वा. का पृतनापति उपरथी भोलानाथ थापा प्रमुख आतिथ्यतामा भएको पदयात्रा शुभारम्भ कार्यक्रममा पृथ्वी नारायण शाहको पालामा स्थापना भएका गणहरुको झण्डा टोलीलाई हस्तान्तरण गरिएको थियो ।
टोलीलाई एक विशेष कार्यक्रमका बिच पश्चिम पृतनाका पृतनापति थापा, जिल्ला समन्वय समितिका प्रमुख माेहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर, भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लाेकप्रसाद बञ्जारा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थाेकर, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णु पाठक लगायतले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका हुन् ।
नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) को झण्डा सहित नेपाली सेनाको टोली गोरखा दरबारबाट हिँडेको हाे ।
‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो । तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले केहि बर्षदेखि हरेक पृथ्वी जयन्तीका अवसरमा पदयात्रा गर्दै आएको छ ।
पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट जोर चौतारी, ताप्ले, अश्राङ, बोर्लाङ्ग, घाटबेंसी हुँदै बोर्लाङ्गघाट पुगेर धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा आज बेलुका नै धादिङको भैरव गणका टोलीलाई हस्तान्तरण गर्नेछ ।
धादिङको भैरव गणको टोलीले केहि दिनपछि नुवाकोटको शेर गणलाई हस्तान्तरण गर्नेछ । नुवाकोटले २६ गते काठमाण्डौको शार्दुल गणलाई हस्तान्तरण गर्नेछ र झण्डा हस्तान्तरण गरेपछि उक्त टोली २७ गते काठमाण्डौं आयोजित पृथ्वी जयन्यतीमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।