गोरखा । अजिरकोट गाउँपालिका ४ को बालुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ बज्र मनासलु गोरखाको आयोजना र एन.पि.आई. गोरखा हस्पिटलको प्राविधिक सहयोगमा बालुवाको श्री जीवन ज्योती माविमा एक दिने निशुल्क शिविर सञ्चालन गरिएको थियो । शिविरबाट ५ सय भन्दा बढीले सेवा लिएका छन् ।
बिभिन्न रोगसंग सम्बन्धि विशेषज्ञसहितको शिविरमा अजिरकोट गाउँपालिका १ को घ्याच्चोक, वडा नं ४ सिम्जुङ, वडा नं ५ मुच्चोक तथा वारपाक सुलिकोट वडा नं १ र २ वारपाक तथा वडा नं ४ लगायतका स्थानीय सेवा लिन पुगेका थिए ।
सालघारी अन्नपुर्ण युवा साँस्कृतिक क्लव घ्याच्चोक सहआयोजक रहेको शिविरबाट जनरल फिजिसियन सेवा १७० जनाले सेवा लिएका छन्।
त्यस्तै नसारोग हाडजोर्नीसम्बन्धि १६१ जना, जसमध्ये ३ जनाको माइनर शल्यक्रिया गरिएको थियो भने प्रसुति तथा स्त्रीरोग सेवा ७१ जना, जनरल सर्जरी सेवा ८७ जना, जसमध्ये १ जनाको माइनर शल्यक्रिया गरिएको आयोजक रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष विनोद अर्यालले बताए ।
त्यस्तै नवजात शिशु तथा वालरोग सेवा ४४ जनाले लिएका थिए भने चिकित्सकको सिफारिसको आधारमा शिविरमा ८९ जनाको निःशुल्क सुगर जाँच, ११८ जनाको निःशुल्क भिडियो एक्स–रे, ४२ जनाको निःशुल्क मुटुको इसिजी गरिएको उनले जानकारी दिए । साथै डाक्टरको सिफारिसको आधारमा सेवाग्राहीहरुलाईअवश्यकता अनुसार निःशुल्क औषधि बितरण समेत गरिएको थियो ।
गोरखा नगरपालिका ८ प्रतिक्षालयमा सञ्चालित एनपिआई गोरखा हस्पिटलका विशेषज्ञ चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी लगायत प्रशासनिक कर्मचारीको सहभागितामा एक दिने वृहत शिविर सञ्चालन गरिएको अस्पतालका प्रवन्ध सञ्चालक पुष्पराज शर्माले जनाए । हस्पिटलले यसअघि आरुघाट क्षेत्रमा समेत शिविर सञ्चालन गरेको थियो ।
रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष विनोद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधी, आयोजक क्लबका पदाधिकारी, सदस्य, अस्पतालका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।