गोरखा । गण्डकी गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिन लागिएका गाउँपालिकाले जनाएको छ ।
कृषकलाई प्रोत्साहन गर्न र कृषि पेशालाई व्यवसायिक बनाउन अनुदान दिन लागिएको प्रमुख प्रशासकिय अधिकृत भुवन चापागाइँले बताए ।
किसानलाई तरकारीमा केजीको दुई रुपैयाँ, खाद्यान्न बालीअन्तर्गत कोदो प्रति केजी पाँच रुपैयाँ, अण्डा प्रतिक्रेट पाँच रुपैयाँ, मासुमा प्रतिकेजी रु १० रुपैयाँ र फलफूल अन्तर्गत सुन्तलामा प्रतिकेजीको चार रुपैयाँ अनुदान दिन लागिएको उनले बताए । सहकारी मार्फत बिक्री वितरण गर्नेलाई मात्र अनुदान दिने गरि कार्यबिधि बनाइएको छ ।
‘कृषकलाई सहजीकरण गरे बापत सोही अनुदान रकमबाट सहकारीले प्रतिकेजी १० पैसा पाउने छन्,’ उनले भने, ‘बाँकी रकम कृषकले पाउनुहुनेछ ।’ किसानले के–कति उत्पादन र बिक्री गर्छन् सोही परिणामको आधारमा अनुदान दिन लागिएको उनले बताए । गाउँपालिकाले यस अघि मिनिटिलर, बिउबिजन वितरण गर्दा त्यसको प्रभावकारीता अनुगमन गर्दा रिजल्ट पाउन नसकेको उनले बताए ।
‘जो जान्ने बुझ्ने छ उसैले अनुदान पाउने उत्पादन गर्ने किसानलाई नपाउने भन्ने गुनासो पनि आउथ्यो,’ उनले भने, ‘यस कुरालाई चिर्न र अनुदानलाई थप व्यवस्थित बनाउन हाल कृषकको उत्पादन र उत्पादनमा आधारित अनुदान प्रणाली नामक सफ्टवेयर बनाएर सञ्चालनमा ल्याइएका छौं ।’
पुस १ गतेदेखि सफ्टवेयर सञ्चालनमा आएको प्रमुख प्रशासकिय अधिकृत चापागाइले जानकारी दिए । यसअघि म्यानुअल रूपमा तथ्याङ्क सङ्कलन गर्ने गरिएको थियो ।
‘त्यसरी तथ्यांक संकलन गर्दा सङ्कलित तथ्याङ्क वडा हुँदै पालिकासम्म आउथ्यो अनि त्यसलाई फेरि कम्प्युटरमा इन्ट्री गरेर कसले कति कृषि सामग्री उत्पादन ग¥यो, कति अनुदान पाउने भन्ने हिसाब निकाल्नु पथ्र्यो’, उनले भने, ‘पहिलाको अनुदान प्रक्रिया लामो र झन्झटिलो हुने भएकाले सफ्टवेयर सञ्चालनमा ल्याएका हौँ ।’
यसरी बैज्ञानीक प्रणाली मार्फत तथ्यांक संकलन गर्दा बास्तविक किसानको हातमा सिधै अनुदान पुग्ने उनकोे विश्वास छ । सफ्टवेयरबाट दैनिक रूपमा कुन किसानले कति परिमाणको कृषि सामग्री बिक्री गरे जानकारी लिन सकिन्छ । सोही तथ्याङ्कका आधारमा अनुदान वितरण गर्न सहज हुने उनले बताए ।
‘सफ्टवेयरमा इन्ट्रीको लागि कृषक कार्ड पनि बनाउदै छौं,’ उनले भने, ‘यसको लागि अहिले किसानको फोटो संकलन पनि भइरहेको छ ।’ सहकारीले कुन किसानले कति बिक्री गरे भनेर सिस्टममा इन्ट्री गर्नेछ । यसरी इन्ट्री गर्दा पालिका र वडा कार्यालयको आइडिबाट अनुगमन गर्न सहज हुने उनको भनाई छ ।
यसरी गर्दा किसानले दैनिक रुपमा, साप्ताहिक रुपमा मासिक रुपमा कति उत्पादन गरे भनेर हेर्न मिल्छ र पालिकामा किसानको प्रोफाइल पनि बन्ने छ । कुन कृषि उपज कति परिणाममा उत्पादन भएको छ र त्यसले बजारमुल्य कति पाइरहेको छ भन्ने पनि पूर्ण रुपमा जानकारी पाउन सकिन्छ ।
उक्त कार्यक्रम सञ्चालनको लागि कृषि र पशुतर्फ कुल १ करोड बजेट छुट्याएको गाउँपालिकाले जनाएको छ । उत्पादनका आधारमा अनुदान दिने भएपछि किसानहरु उत्साहित भएका छन् । गण्डकी गाउँपालिकामा व्यवसायिक तरकारी खेती हुने गरेको छ ।