गोरखा । गोरखा नगरपालिकामा लैंगिक हिंसा न्यूनिकरणका बिषयमा बक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत नगरस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
गोरखा नगरपालिका र सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा भएको प्रतियोेगितामा गोरखा नगरपादिकाका ९ लक्ष्मीबजारको लक्ष्मी सामुदायिक शिक्षा सदनकी ईशा कुँवर पहिलो भएकी छिन् ।
प्रतियोगितामा जेनिस इङ्लिस बोर्डिङ स्कुल नयाँबजारकी सन्जु श्रेष्ठ दोस्रो र रानीवन गोरखाको द ओल्ड क्यापिटल मावि तेस्रो हुन सफल भएको बताइएको छ । त्यस्तै डुम्रीडाँडाँको रत्नलक्ष्मी माविकी समिता बस्नेत र तारा मावि छेपेटारकी प्रगती सिर्मल सान्त्वना हुन सफल बनेका छन् ।
पाटेचौरस्थित श्री शक्ति माविमा आयोजना भएको कार्यक्रममा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेले क्रमश, ४ हजार, ३ हजार, २ हजार र एक हजार नगदसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।
शक्ति माविका विधालय ब्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का, शक्ति माविका प्रअ राजेन्द्र अधिकारी लगायतले बोलेका थिए ।