काठमाण्डाै । बुढानीलकण्ठ नगरपालिकामा हालसम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
नगरले आरटी पिसिआर बिधिबाट जाच गरेका मध्ये २ जना र बाह्य जिल्ला तथा विदेशबाट आएका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहालले दिएका छन् । संक्रमण पुष्टि भएका १० जना मध्ये ५ जना निको भएर घर फर्किसकेका छन् भने ५ जना हाल उपचाररत छन् ।

नगरले हालसम्म आरटी पिसिआर बिधिबाट ३ सय ७६ र आरडिटि किट द्धारा ७ सय ६४ जनाको परिक्षण गरेको छ ।
नगरले छिट्टैनै थप ३ सय जना सम्भावित जोखिमका क्षेत्रमा काम गर्ने व्यक्तिहरुको पहिचान गरि आरटी पिसिआर विधिबाट जाच गर्ने तयारी गरेको स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए । जसमा स्वास्थ्य कर्मी, जनप्रतिनिधि, सुरक्षा कर्मी, स्वास्थ्य स्वयंसेविका, संचारकर्मी, एम्बुलेन्स चालक, फोहोरमैला संकलन तथा व्वस्थापनकर्मी, प्रभावित जिल्ला बाट आएका व्यक्तिहरु, नगरमा राहत वितरणमा खटिएका कर्मचारी तथा स्वयंसेवकहरु, तरकारी, हाट बजार, माछा मासु पसल, खाद्य सामाग्री तथा ग्यास पसल लगायतबाट छनौट गरेर नमुना परिक्षण गर्ने तयारी नगरले गरेको छ ।
बुढानीलकण्ठ नगर भित्र कसैमा कोरोना संक्रमण पुष्टि भए स्वास्थ्य शाखा बाट तत्कालै सम्बन्धीत स्थानमा पुगि कन्ट्याक ट्रेसिङ्गका आधारमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी जानकारी लिई वरपरका स्थानहरुमा सतर्कता अपनाउन अनुराेध गरी निश्चित समय पश्चात नमुना संकलन गरी परिक्षणका लागि पठाउने गरेको स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए ।