गोरखा । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सरकारी संरचना पुनर्निर्माणका लागि गोरखामा संकलन गरिएको रकम नेपाल सरकारलाई पठाइएको छ ।
जिल्लाका विभिन्न नागरिक समाज संघ संस्थाहरुको संयुक्त पहलमा सञ्चालन गरिएको अभियान मार्फत संकलित १ लाख २१ हजार ५५५ रुपैयाँ नेपाल सरकारको भौतिक पुर्वाधार पुनर्निर्माण कोषमा दाखिला गरिएको हो ।
गोरखाका झण्डै ४४३ घर/पसल तथा व्यक्तिवाट उक्त रकम संकलन भएको अभियान्ता हरि देवकोटाले जानकारी दिए । अभियानबाट जुटेको रकम बुधबार एकमुष्ट भौतिक पुर्वाधार पुनर्निर्माण कोषमा दाखिला गरिएको उनले बताए ।
रकम दाखिलासंगै बुधबार नै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई रकमको विवरण, दाताको नाम तथा प्रतिवेदन पठाइएको अभियानमा संलग्न नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीले बताए ।
अन्तरपुस्ता महिलावादी मञ्चको संयोजनमा सञ्चालित अभियानमा नागरिक साझा सवाल गोरखा, गैर सरकारी संस्था महासंघ, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स लगायत २० भन्दा बढी नागरिक समाज संघसंस्था सहभागी रहेका थिए ।