• शुक्रबार, साउन ८ २०८३

समय अगावै काम सक्ने उपभोक्ता समिति सम्मानित


मंगलबार, मंसिर १७ २०८२
1.3K
Shares

गोरखा । शहीद लखन गाउँपालिका–७ ले तोकिएको समय अगावै योजनाको काम सम्पन्न गर्ने उपभोक्ता समितिलाई सम्मान गरेको छ ।वडाले सोमबार एक कार्यक्रम गरी तोकिएको समय अघि काम सम्पन्न गर्ने तीन उपभोक्ता समितिलाई गरेको हो ।

उपभोक्ता समितिलाई काम गर्नलाई प्रोत्साहन हुनुको साथै अरु समितिहरुलाई हौसला मिल्ने उदेश्यले सम्मान गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

‘हाम्रो वडामा उपभोक्ता समितिले काम गर्ने १६ वटा योजनाहरु छन्,’ उनले भने, ‘जसमध्य १२ वटा उपभोक्ता समितिले काम सम्पन्न गरेर भुक्तानी लगिसक्नुभएको छ, सबै भन्दा पहिला, दोस्रो र तेस्रो भुक्तानी लिने उपभोक्ता समितिलाई कदरपत्रसहित सम्मान गरेका हौं ।’

वडाले सबैभन्दा पहिलो योजना सम्पन्न गरी रकम भुत्तानी लिने बोर्लाङ्गी गाउँ सामुदायिक भवन माथि ट्रस निर्माण उपभोक्ता समितिका अध्यक्ष टिका श्रेष्ठ, दोस्रो योजना सम्पन्न गरी भुक्तानी लिने मकैपुर डाडाँगाउँ सितल चौतारा बाटो ढलान उपभोत्ता समितिका अध्यक्ष पृथ्वीनारायण श्रेष्ठ र बुंकोट स्वास्थ्य चौकीमा सुत्केरी कक्ष स्तरउन्नती उपभोक्ता समितिका अध्यक्ष सरस्वती श्रेष्ठलाई सम्मान गरेको छ ।

‘नेपालमा जुनसुकै योजनाको काम गर्दा वर्षभरी चुप लागेर बस्ने जब असार मसान्त आउछ अनि हतार हतार काम गर्ने प्रचलन देखिन्छ,’ उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा मात्र कामलाई तिव्रता दिने चलनलाई हटाउदै समयमै योजनाको काम सक्नु पर्छ भन्ने शिक्षा दिन र अरु समितिलाई पनि प्रोत्साहन गराउन सम्मान गरेका हौं ।’

उक्त वडावासीलाई आफ्नो वडाभित्रको विकास निर्माणमा सहभागी गराउन र कामको अपनत्व गराउन पनि प्रोत्सानको नीति लिइएको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।

वडाले गत साउनमै सम्पूर्ण योजना निर्माणका लागि उपभोक्ता समिति गठन गरेर काम गरेको उनले बताए । ‘हामीले साउनदेखि नै योजना निर्माणको लागि समिति गठन गरेर काम गर्न लगाएका थियौं, ’उनले भने, ‘योजनाहरु सम्पन्न गर्न पालिकाले चैत मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ, तर हामीले मंसिर १५ भित्रै १२ वटा योजनाको भुत्तानी गरिसक्यौं, एउटा योजना भुक्तानीको प्रकृयामा छ ।’

तर उपभोक्ता समितिको काम हेर्दा अन्य योजनाहरु पनि पुस भित्रै सक्ने उनको विश्वास छ । वडाले केही वर्षदेखि तोकिएको समयअगावै काम सम्पन्न गर्ने उपभोक्ता समितिलाई सम्मान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार