गोरखा । शिक्षकको पेसागत विकास तथा सहयोगका लागि कार्यविधि निर्माण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वयन इकाई गोरखाको समन्वय, रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र एकिकरण नेपालको व्यवस्थापनमा कार्यशाला सम्पन्न भएको हो ।
गोरखा जिल्लाका सबै ११ स्थानीय तहका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख, सामाजिक विकास समिति संयोजक र नगररगाउँ पालिकाको विषय बिज्ञ गरी हरेक स्थानीय तहबाट ३ जना सहभागी भएको कार्यशाला मंसिर ११ देखि १३ गते सम्म होटल गोरखा प्यालेसमा सम्पन्न भएको हो ।
शिक्षकको पेशागत विकास तथा कक्षाकोठामा आधारित शिक्षक सहयोगको संयन्त्र विकास गरी शिक्षकलाई निरन्तर सहयोग गर्न कार्यविधि निर्माणमा सहयोग गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी गराए ।
कार्यशालामा शिक्षकको पेसागत विकास तथा सहयोगका विभिन्न उपायहरुमा छलफल गरिएको थियो । यस सम्बन्धमा गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरु, नीतिगत व्यवस्थाका साथै विभिन्न स्थानीय तहहरुले गरिरहेका अभ्यासहरुका बारेमा छलफल गरिएको थियो ।
विभिन्न अभ्यासका आधारमा आफ्नो स्थानीय तहको श्रोत, साधन र भौगोलिक अवस्थालाई ख्याल गर्दै स्थानीय तहहरुले विभिन्न उपायहरु अवलम्बन गरी शिक्षकको पेसागत सहयोग गर्ने गरी कार्यविधिको खाका तयार गरिएको बारपाक सुलिकोट गाउँपालिकाका शिक्षा संयोजक भीम कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यशालाको सहजीकरण रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत एल बी खड्का र कृष्ण खतिवडाले गर्नु भएको थियो । रुम टु रिडका साक्षरता कार्यक्रमका निर्देशक नेत्र दाहाल र बरिष्ठ फिल्ड व्यवस्थापक सुशिल तिम्सिना समेतको उपस्थिती रहेको कार्यशालामा पालुङटार नगरपालिकाका शिक्षा अधिकृत मनोज सिर्मलले शिक्षकको पेसागत सहयोगका लागि पालिकामा दक्ष प्राविधिक जनशक्ति विकास गरी शिक्षक सहयोग गर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यशालामा गण्डकी प्रदेश शिक्षा तालिम केन्द्रका तालिम अधिकृत राजकुमार बिष्ट, शिक्षा विकास तथा समन्वय इकाईका बरिष्ठ अधिकृत विश्व प्रकाश रेग्मीसमेतको सहभागिता रहेको थियो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन एकिकरण नेपालका कार्यक्रम व्यवस्थापक रुशा तामाङले गर्नु भएको थियो ।
एकिकरण नेपाल र रुम टु रिडले जिल्लाको शैक्षिक सुधारका लागि जिल्लाका २१९ सामुदायिक विद्यालयहरुमा बिगत ३ बर्ष देखि साक्षरता र १९ सामुदायिक विद्यालयहरुमा बालिका शिक्षा कार्यक्रम सञ्चालन गरिहेका छन् ।