गोरखा । आगामी आर्थिक बर्ष २०७७/७८ का लागि गोरखा नगरपालिकाले झण्डै एक अर्बको बजेट सार्वजानिक गरेको छ । बुधबार छैटौ नगरसभा मार्फत नगरपालिकाले ९९ करोड ४३ लाख ५१ हजार ७ सय २१ रुपैयाको बजेट सार्वजानिक गरेको हो ।
स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिता दिदै सो रकम बराबरको बजेट नगरपालिकाले ल्याएको हो । बजेटमा आन्तरिक श्रोत सहित संघ र प्रदेशको बजेट समेत समावेश गरिएको छ ।
नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख विना कुमारी श्रेष्ठले कुल बजेट मध्ये चालु तर्फ ३७ करोड ९४ लाख ६१ हजार र पुँजीगत तर्फ ६१ करोड ४८ लाख ९० हजार ७२१ रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेकी हुन् ।
यस बर्ष नगरक्षेत्रका १४ वटा वडालाई ९० लाखका दरले वडागत रुपमा बजेट बिनियोजन गरिएको छ । वडाले नगरपालिकालाई सिफारीस गरे बमोजिम पूर्वाधार बिकास, बातावरण तथा विपद ब्यवस्थापन, सुशासन, कृषि, स्वास्थ्य, शिक्षा, पशु, क्षमता विकास, सामाजिक विकास र पर्यटन लगायत शिर्षकमा सो बजेट बिनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताइन ।
त्यस्तै नगरपालिकाले आगामी बर्षका लागि न्यायिक समिति तर्फ २४ लाख, सहकारी तथा सुशासन तर्फ २३ लाख, राजश्व सुधार तर्फ ९ लाख, सुचना प्रविधि तर्फ ४५ लाख, कृषि तर्फ १ करोड ३५ लाख, शिक्षा तर्फ २ करोड ५५ लाख ४३ हजार, आयुर्वेद तर्फ १३ लाख ५० हजार, वातावरण तथा बिपद ब्यवस्थापन तर्फ ८० लाख र सामाजिक विकास तर्फ १ करोड ५९ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
यसै गरी स्वास्थ्य तर्फ १ करोड ६५ लाख, योजना तथा नक्सा पास तर्फ ६१ लाख ५० हजार, पशु सेवा तर्फ ५५ लाख ७२ हजार, जिन्सी तथा कार्यालय ब्यवस्थापन तर्फ ४० लाख गरी १० करोड ६६ लाख ७१ हजार रकम बिनियोजन गरिएको बताइएको छ ।
नगरपालिकाले नगरस्तरिय योजनामा ११ करोड ४१ लाख रकम छुट्याएको जनाएको छ । जसमा प्रकोप ब्यवस्थापनमा मात्रै १ करोड बजेट राखिएको नगरप्रमुख पन्तले जानकारी दिए ।
त्यस्तै मर्मत संभार तर्फ ३५ लाख, पर्यटन प्रवद्र्वन तर्फ ७५ लाख, स्टोन पार्कका लागि ५० लाख, पश्चिमकाली चिल्ड्रेन पार्कका मैदान सडकका लागि ५० लाख, विभिन्न मठ मन्दिर र भवन निर्माणका लागि १ करोड ८५ लाख, मानव सेवा आश्रम भवन निर्माणका लागि २० लाख, फुटपाथ र बाटो ढलान, ट्रेनिङ सेन्टर निर्माण, खानेपानी पाईप खरिद, तारजाली खरिद, खेल मैदान निर्माण, होम स्टे प्रवद्र्वन, भ्यू टावर तथा सिढी निर्माणका लागि ६ करोड २६ लाख ७० हजार रकम बिनियोजन गरिएको छ ।
यसैगरी बजेटले कोभिड १९ बाट प्रभावितहरुको स्वास्थ्य रक्षालाई पहिलो प्राथमिता दिएको उपप्रमुख श्रेष्ठले बताइन् ।
त्यस्तै नगरलाई प्रविधीमैत्री बनाउदै शैक्षिक हवका रुपमा विकास गर्न समेत आवस्यक बजेट विनियोजन भएको उनको भनाई छ । त्यस्तै बुधबार कै सभाले गोरखा नगरपालिकाको आर्थिक विधयेक २०७७ समेत सर्वसमतले पास भएको छ ।