• आइतबार, साउन १० २०८३

कृषि ज्ञान केन्द्र गोरखाको सार्वजानिक सुनुवाई : बार्षिक वित्तिय प्रगती ७० प्रतिशत


बुधबार, असार ३१ २०७७
1.1K
Shares

गोरखा । लकडाउनको बाबजुद पनि कृषि ज्ञानकेन्द्रले उल्लेख्य प्रगति हासिल गरेको छ । कोरोना संक्रमण रोक्नका लागि लगाइएको लकडाउनका कारण केही कार्यक्रम प्रभावित भएपनि चालु आर्थिक वर्षमा ७०.४ प्रतिशत वित्तिय प्रगती हासिल भएको प्रमुख मनिता थापाले जानकारी दिइन ।

‘प्रदेश तर्फ नीतिगत समस्या परेन समयमै काम भयो प्रगति पनि राम्रै हासिल भएको छ,’ उनले भनिन्, ‘संघ तर्फ कार्यविधि ढिलो आयो काम गर्दागर्दै लकडाउनले रोकियो, लक्ष्य अनुसारको काम गर्न सकिएन ।’

ज्ञानकेन्द्रले मंगलबार गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले लकडाउनका कारण पूर्ण रुपमा बजेट खर्च गर्न नसकेपनि सन्तोषजनक काम भएको दाबी गरेकी छिन् ।

प्रदेश तर्फ ८४.८० र संघ तर्फ ६४.१० प्रतिशत रकम खर्च भएको उनको भनाई छ । चालु आर्थिक वर्षमा गोरखामा संघिय सरकारबाट ९ करोड ६७ लाख ७० हजार र गण्डकी प्रदेश सरकारबाट ४ करोड २६ लाख ९० हजार रकम विनियोजन भएको थियो ।

कुल १३ करोड ९४ लाख ६० हजार रकम प्राप्त भएकोमा असार मसान्तसम्म ९ करोड ८२ लाख ३७ हजार २३७ रुपैयाँ खर्च भएको छ । ‘कोभिड १९ को संक्रमणपछि केही योजना माथिबाटै काटिए, मानिसको भिड गरेर खर्च गर्नुपर्ने कार्यक्रमहरु हुन सकेनन्,’ उनले भनिन्, ‘कुल २९.६ प्रतिशत वजेट हामीले खर्च गर्न सकेनौं । कतिपय रकम फिर्ता गइसकेको छ ।’

कोरोना संक्रमण, कार्यविधि आउन ढिलाई, जनशक्तिको कमि, कृषि सामाग्री एवं उपकरण खरिदमा जटिलता, भौगोलिक बिकटता लगायतका कारणले समयमै काम गर्न नसक्दा जिल्लामा प्राप्त सबै रकम खर्च हुन नसकेको थापाले बताइन् । फिल्डमा खटिएका कर्मचारी लाई पटक पटक क्वारेन्टिनमा राख्नु पर्दा काम गर्न समस्या भएको हो ।

समग्र कार्यक्रममा केही रकम खर्च हुन नसकेपनि भारीत प्रगती भने निकै राम्रो रहेको उनको दाबी छ । पूर्वनिर्धारित ९२.६० प्रतिशत काम तोकिएको समयमै सम्पन्न गरी रकम भूक्तानी भएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । कृषि क्षेत्रको व्यवसायी करण, यान्त्रिकरण, कृषकको क्षमता अभिवृद्धि लगायतका कुरामा उक्त बजेट खर्च भएको देखिन्छ ।

चालु आर्थिक वर्षमा यहाँ ४५० हेक्टर क्षेत्रफलमा सिंचाइ सुबिधा बिस्तार गरिएको छ । ४२१ वटा ग्रिन हाउस तथा प्लास्टिक घर निर्माण, ५० प्रतिशत अनुदानमा २७५ वटा यन्त्र उपकरण सहयोग समेत गरिएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ ।

कफि, मौरीपालन, अलैची, धान, मकै, कोदो, आलु लगायतका विभिन्न खेतिबालीलाई प्रर्वद्धन कार्यक्रम सञ्चालन भएको थापाले जानकारी दिइन । गत आर्थिक वर्षमा स्थापना भएका १६ वटा पुराना ब्लकलाई निरन्तरता दिनुका साथै ६ वटा थप गरिएको छ । २८ नयाँ पकेट स्थापना गरी ३ वटा पुराना पकेटलाई यस वर्ष पनि कार्यक्रम तथा वजेट उपलब्ध गराइएको उनले बताइन् ।

कार्यक्रममा जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुले संघ र प्रदेशको कार्यक्रमलाई समानुपातिक ढङ्गले विना पूर्वाग्रह स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न सुझाब दिएका थिए । सहभागी स्थानीय तहका प्रमुख/प्रतिनिधि र स्थानीयले विभिन्न खालको जिज्ञासा राखेका थिए ।

कार्यालय प्रमुख थापाले सहभागीको जिज्ञासाको समेत जवाफ दिएकी थिइन् ।

जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंल, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल, हरि देवकोटा, कमला लामिछाने, दिपक थापा, भुपेन्द्रबाबु रेग्मी लगायतले कार्यालयको सेवा प्रवाह र प्रभावकारिताका बारे बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार