स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिक उपचार कार्यक्रम स्वास्थ्य बिमाबाट गर्ने जनाएको छ।
मन्त्रालयले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेको छ। यो सँगै विपन्न नागरिक उपचार कार्यक्रम मार्फत प्रदान गरिँदै आएको ८ प्रकारका कडा रोगको उपचारको भुक्तानी स्वास्थ्य बिमा बोर्ड मार्फत प्रदान गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको हो।
मन्त्रालयले मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया भएका व्यक्तिलाई बिमा र विपन्न सुविधासमेत गरी ३ लाख बराबरको उपचार सेवा दिने व्यवस्था गरेको छ।
विपन्न नागरिकको सेवा लिन अनिवार्य स्वास्थ्य बिमा भएको हुनु पर्ने प्रावधान राखिएको छ।
स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न निर्देशिका संशोधन गरेको मन्त्रालयले जनाएको छ।
निर्देशिका स्वीकृत गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरकार विपन्न नागरिकको स्वास्थ्य उपचारप्रति प्रतिबद्ध रहेको र आफ्नो कार्ययोजना अनुसार बिमा कार्यक्रमलाई थप एकीकृत, व्यवस्थित र पारदर्शी बनाउन सक्रिय रहेको बताए।
‘हामीले सार्वजनिक गरेको कार्ययोजना र सुधारका योजना अन्तर्गत रहेर स्वास्थ्य बिमाको सेवालाई थप पहुँचयोग्य र मितव्ययी बनाउन यो निर्णय लिएका हौँ’ उनले भने।
संशोधित निर्देशिकामा स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामार्फत संचालन भईरहेको विपन्न नागरिक उपचार कार्यक्रमकको भुक्तानी प्रकृया स्वास्थ्य बीमा बोर्डमार्फत गरिने उल्लेख गरिएको छ।
अस्पताल सूचिकरण, एकीकृत अनुगमन, प्रतिवेदन प्रविष्टि भने नर्सिङ तथा समाजिक सुरक्षा महाशाखाबाट गर्ने गरी व्यवस्था गरिएको छ।