गोरखा । नीजि क्षेत्रको करिब ५५ करोड लगानीमा गोरखामा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को नमुना प्रतिक्षालय टोल क्षेत्रमा ५४ करोड ७५ लाख २५ हजार रुपैया लगानीमा एनपिआई गोरखा अस्पताल निर्माण भएको हो ।
सोमबार अस्पताल सञ्चालक समितिले पत्रकार सम्मेलन गर्दै अस्पतालले आगामी भदौ १ गतेबाट सेवा शुभारम्भ गर्ने सार्वजनिक गरेको हो ।
९ रोपनी क्षेत्रफलमा बनेको अस्पतालले गोरखामै सुविधासम्पन्न स्वास्थ्य सेवा दिने योजना रहेको समितिका अध्यक्ष लेखराज पन्तले बताए ।
यससंगै अस्पतालले बिभिन्न रोगको उपचार र चेकजाँचका लागि सुविधासम्पन्न मेसिन, उपकरणहरु समेत ल्याइसकेको छ । अस्पतालले गोरखामा पहिलोपटक इन्डोस्कोपी र सिटी स्क्यान मेसिन समेत भित्राएको छ ।
अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट अनुमती प्राप्त भइसकेको प्रवन्ध सञ्चालक पुष्पराज शर्माले जानकारी गराए । अस्पताल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
अस्पतालले स्त्री रोग, नशा तथा हाडजोर्नी, बाल रोग, शल्यक्रिया, रेडियोलोजिस्ट, एनेस्थेसिया, मेडिसिन (पेट, मुटु, छाती, प्रेसर, सुगर, दम र थाइरोइड) लगायत विशेषज्ञ सेवा दिने उनको भनाई छ ।
सेवा शुभारम्भको पहिलो दिन अस्पतालले ओपीडी सेवा निःशुल्क र बाँकी सेवा शुल्कमा ५० प्रतिशत छुट दिने तयारी गरेको छ । त्यस्तै दोस्रो र तेस्रो दिन ओपीडीमा ५० प्रतिशत र अरू सेवा शुल्कमा २५ प्रतिशत छुट हुने प्रवन्ध सञ्चालक शर्माले बताए ।
गोरखासँगै तनहुँ, लमजुङ, धादिङ लगायतका जनतालाई सुविधासम्पन्न स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उदेश्यले निर्माण गरिएको अस्पतालले निकट भविष्यमै नर्सिङ कलेज सञ्चालनको समेत योजना बनाएको शर्माको भनाई छ ।