गोरखा । गोरखा नगरपालिकाले ५५ जना विधार्थीलाई छात्रवृत्ति वितरण गरेका छ । आज एक कार्यक्रमकावीच नगरपालिकाले ५० जनालाई नगरप्रमुख छात्रवृत्ति वितरण र एसईईमा ४ जिपिए ल्याउने नगरक्षेत्रका ५ जना विधार्थीलाई पुरस्कृत गरिएको हो ।
जसमा कक्षा ८ को नगरस्तरीय परिक्षामा उत्कृष्ट २५ जनालाई जनही १० हजारका दरले नगरप्रमुख छात्रवृत्ति वितरण गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।
त्यसमापनि २० जना २० वटा सामुदायिक विधालयबाट सिफारिस भई आएका र ५ जना नगरस्तरीय परिक्षामा सहभागी मध्ये अल्पसंख्यक, दलित, मुस्लिम लगायतबाट छनोट गरी छात्रवृत्ति दिइएको खड्काको भनाई छ ।
त्यस्तै आ.व. २०८१/८२ मा गोरखा क्याम्पस शैक्षिक विकास कार्यक्रम मार्फत सो क्याम्पसमा स्नातक र स्नातकोत्तर अध्ययनरत २५ जना विधार्थीहरुलाई समेत जनही १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको शिक्षा शाखा प्रमुख खड्काले बताए ।
यसै गरी कार्यक्रमकैवीच एसईई परिक्षा २०८१ मा ४ जिपिए ल्याउने नगरक्षेत्रका ५ जना विधार्थीहरुलाई १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ ।
यस बर्ष नगरक्षेत्रको द ओल्ड क्यापिटल माविका २ जना प्रशिद्धिका अर्याल र सम्पन्न खत्री, मोर्डन सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका सार्थक बगाले, सेन्ट जोसेफबाट श्रावणी जोशी र सरस्वती मावि आहालेबाट प्रशन्ना घिमिरेले ४ जिपिए प्राप्त गरेका थिए । उनिहरु सबैलाई जनरी १० हजारका दरले पुरस्कृत गरिएको बताइएको छ ।
नगरप्रमुख कृष्णबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख मसलीमाया थोकर, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, सामाजिक विकास समितिका संयोजक एवं गोरखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँ लगायतले मन्तब्य राखेका थिए ।