गोरखा । स्वरोजगार र आत्मनिर्भर बनाउन गोरखा नगरपालिकाको सहयोगमा नगरक्षेत्रका महिलाहरुलाई बेकरी तालिम दिएको छ ।
उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम अन्तर्गत १४ वटै वडाका महिलालाई बेकरी तालिम दिएको हो । गोरखा नगरपालिका १० को ह्वाइट हाउस क्याफे तथा बेकरी उधोगको आयोजना, ब्यवस्थापन तथा सहजीकरणमा भएको तालिममा ५५ जना महिलाको सहभागिता रहेको बताइएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ८ र वडा नम्बर १० गरी दुई स्थानमा एक महिनासम्म सञ्चालन गरिएको तालिममा केक, पाउरोटी, जाम, मःम, पिज्जा, बर्गर लगायत बनाउन सिकाइएको उपप्रमुख मसलीमाया थोकरले बताइन् ।
तालिम लिएका अधिकांशले एक महिनासम्म सिकेको सीपलाई ब्यवसायिक रुपमा अघि बढाउने प्रतिवद्धता गरेका छन् । तालिमको हिजो बुधबार एक कार्यक्रमका वीच समापन गरिएको छ ।
उपप्रमुख थोकरको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नगरप्रमुख कृष्णबहादुर रानामगर, संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, वडाध्यक्ष प्रदिप कुवँर लगायतले बोलेका थिए । सम्बोधनका क्रममा उनिहरुले सिकेको सीपको सदुपयोग गरी आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गरेका थिए ।