रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र एकीकरण नेपाल गोरखाको व्यवस्थापनमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको समीक्षा बैठक सम्पन्न भएको छ।
गोरखा नगरपालिका १२ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय कुन्दुरमा एक कार्यक्रमको बीच सो समीक्षा बैठक सम्पन्न भएको हो। बैठकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक अभिभावक संघको अध्यक्ष, प्रहरी चौकी १२ किलोको इन्चार्ज, स्वास्थ्य चौकीका प्रतिनिधि स्थानीय जनप्रतिनिधि एवम् बाल क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बालिका शिक्षा कार्यक्रमका सहभागी बालिकाहरू तथा अभिभावक समेतको उपस्थिति रहेको थियो।
कार्यक्रममा हालसम्म सम्पन्न भएका क्रियाकलापहरूको प्रगति समेटिएको प्रस्तुति एकीकरण नेपाल गोरखाका कार्यक्रम अधिकृत सरिता कटुवालले गरेकी थिइन्।
कार्यक्रममा बोल्दै अभिभावक आशा बसेलले उक्त कार्यक्रमले आफ्नो छोरीमा जीवन उपयोगी सीप विकास भएको, आनीबानीमा परिवर्तन हुनुको साथसाथै अध्ययनप्रति पनि लगाव बढेको बताइन्।
कार्यक्रममा सहभागी बालबालिकाहरूले जीवन उपयोगी सीप तालिमले उनीहरूमा समयतालिका निर्माण गरेर पढ्ने, नजाने कुराहरु एकअर्कासँग सिक्ने तथा असफल भइहालेमा पनि पुन अध्ययन गरी आफ्नो पढाइलाई निरन्तर दिने सक्ने क्षमता विकास भएको बताए।
कार्यक्रममा शिक्षक स्थानीय जनप्रतिनिधि स्वास्थ्य चौकीका प्रतिनिधि प्रहरी कार्यालयका प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए । सरोकारवालाहरूले बालिका शिक्षा कार्यक्रम उपलब्धिमूलक रहेकोले कार्यक्रममा आवद्ध बालिकाहरूको लागि मात्र नभइ बालक र बालिका दुबैलाई जीवन उपयोगी सीप शिक्षा दिनु पर्नेमा जोड दिएका थिए ।
रूम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राईले सरोकारवालाहरूको जिज्ञासालाई सम्बोधन गर्दै विद्यालय र स्थानीय सरकारसँगको साझेदारीमा बालक्लव तथा शिक्षकमार्फत जीवन उपयोगी सीप शिक्षालाई अगाडी बढाउन सकिने जानकारी गराएकी थिइन् ।
बालिका शिक्षा कार्यक्रमले बालिकाहरूमा आत्मविश्वास बढेको, पढाईमा सुधार आएको, कक्षामा बालिकाहरूको नियमितता बढेकोले आगामी दिनमा पनि सहयोग र सहकार्य गर्न तत्पर रहेको प्रधानाध्यापक गोपालबाबु मर्हट्टाले बताए ।
सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बुद्धि बहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको जानकारी बालिका शिक्षा कार्यक्रमका सामाजिक परिचालक सपना लामिछानेले गराइन् ।