गोरखा । छेवेटारमा प्रदेशस्तरीय संयुक्त बृहत विपद् प्रतिकार्य नमुना अभ्यास तालिम सम्पन्न गरिएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोग, नेपाली सेनाको आयोजना, जिल्ला विपद् ब्यवस्थापन समिति गोरखाको संयोजन तथा रुद्रध्वज गण नाम्जाली ब्यारेक गोरखाको ब्यवस्थापनमा आइतवार उक्त कार्यक्रम गरिएको हो ।
विपद् प्रतिकार्य सम्बन्धी जानकारी दिने हेतुले गोरखा नगरपालिका–१० छेवेटार दरौदी खोलाको बगरमा विपद् प्रतिकार्य नमुना अभ्यास तालिम गरिएको रुद्रध्वज गणका गणपती प्रमुख सेनानी दिपक खड्काले जानकारी दिए ।
विपद् नमुना अभ्यासमा बाढी उद्दार कार्य, र्याफ्टबाट उद्धार, पहिरोमा उद्धार, सडक दुर्घटनामा खोज तथा उद्धार, सामुहिक क्याम्पमा आगलागी नियन्त्रण, राहत वितरण, अस्थायी शिविर, पुनर्वास, सामान्यिकरण सम्बन्धी अभ्यासहरु गराइएको उनले बताए ।
जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा श्री नं.३ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी अमृत काजी गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
तालिममा जिल्लाका जनप्रतिनिधिहरु, सुरक्षा निकायहरु, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सरोकारवाला निकाय, स्वास्थ्यकर्मीहरु स्थानीय लगायत २५० जना भन्दा बढिको सहभागीता रहेको थियो ।