गोरखा । आरुघाट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमकावीच गाउँपालिका अध्यक्ष राजु गुरुङले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।
खोप उमेर समूहका सम्पूर्ण बालबालिकाहरु खोपको पहुँचमा रहेको सुनिश्चित गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले जानकारी दिए ।
जसमा आरुघाटका १ देखि १० नम्बर वडासम्मका १५ महिनामूनीका बालबालिकाहरु २२८, १६ देखि २३ महिनासम्मका ७२४ बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार नै खोप लगाएको सुनिश्चत गरिएको प्रमुख थापाले बताए ।
यसअघि गाउँपालिकाले बालबालिकाहरुले राष्ट्रिय खोप अभियान अन्तरगत खोपबाट बञ्चित छ की छैनन् भनेर खोज र खोप अभियान सञ्चालन गरेको थियो । खोप अभियान अन्तरगत बालबालिकालाई बिभिन्न ११ प्रकारका खोप लगाइने गरिन्छ ।
यसअघि पूर्णखोप सुनिश्चितता घोषणा भइसकेकाले हरेक बर्ष पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्ने प्रचलन रहेको छ । जुन राष्ट्रिय स्तरमा सञ्चालन हुने बैशाख महिना, खोप महिना अभियानकै अवसर पारेर यो कार्यक्रम घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख थापाको भनाई छ ।
जसबाट सबै वडाका बालबालिकाहरु खोपको पहुँचमा रहेको र वडा खोप समन्वय समितिले समेत यसलाई सुनिश्चित गरी सिफारिस गरिएकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइएको छ ।
कार्यक्रमलाई गाउँपालिका अध्यक्ष गुरुङसहित उपाध्यक्ष कल्पना नेपाली, प्रमुख प्रकाशकीय अधिकृत भिमसेन श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।