काठमाडौं । हिमाली जिल्ला डोल्पाको शे–फोक्सोण्डोमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । हिमालयन हार्ट एण्ड हिलिङको आयोजनामा शे–फोक्सोण्डोमा दुई दिनसम्म स्वास्थ्य शिविर भएको हो ।
अस्पताल, औषधी, तथा चिकित्सकको अभावमा स्वास्थ्यमा समस्या देखिएपनि रोग पालेर बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सो संस्थाले हिमाली क्षेत्र शे–फोक्सोण्डोमा शिविर सञ्चालन गरेको जनाएको छ । शिविरमा चितवनबाट गएका डाक्टरद्धय जाविर अहमद मियाँ र पुकार अधिकारीले दुईदिनसम्म स्थानीयको स्वास्थ्य परिक्षण गर्नुका साथै परामर्श तथा निशुल्क औषधी समेत वितरण गरेका थिए ।
दुर्गम तथा हिमाली क्षेत्रका नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उदेश्यले स्थापना गरिएको हिमालयन हार्ट एण्ड हिलिङले सञ्चालन गरेको सो शिविरबाट ६० जना भन्दा बढीले सेवा लिएका थिए ।
जसमा प्रेसर, सुगर, रुघाखोकी, ज्वरो, ढाड दुखाई, नसा, हड्डी लगायतको समस्या भएका बिरामीले सेवा लिएको डाक्टर मियाँले बताए । उनिहरुलाई परिक्षणसंगै औषधी समेत निशुल्क दिइएको उनको भनाई छ ।
सो स्थानबाट डोल्पाको सदरमुकाम दुनाई पुग्न झण्डै दुई दिन हिड्नपर्ने बाध्यता छ । सडक सञ्जाल नपुगेको सो क्षेत्रका नागरिक आकस्मिक बाहेक सदरमुकामसम्म पुगेर चेकजाँच गर्ने चलन नहुँदा रोग पालेर बस्नुपर्ने बाध्यता देखिएपछि गाउँमै सेवा दिने लक्ष्यसहित आफूहरु नयाँबर्षको अवसर पारेर सो क्षेत्रमा शिविर सञ्चालन गर्न पुगेको डा मियाँ बताउछन् ।
शिविरमा बाँकी रहेका औषधीहरु शे–फोक्सोण्डो गाउँपालिकाका स्वास्थ्य चौकी इन्चार्ज पारसबहादुर शाहीलाई हस्तान्तरण गरिएको उनले बताए । शिविरमा अधिकांश बालबालिका र वृद्धवृद्धाले सेवा लिएका थिए ।
उनका अनुसार सो क्षेत्रका स्वास्थ्य चौेकीहरुमा सरकारले निशुल्क वितरण गर्न तोकेका औषधीको समेत अभाव रहि स्थानीय नागरिक सो सेवा लिनबाट वञ्चित रहेको गुनासो आएको छ ।
‘हामी त्यहाँ पुग्दा स्थानीय हेल्थपोष्टहरुमा ३०–३२ प्रकारका औषधी पनि थिएनन्, साह्रै कहालीलाग्दो स्थिती देख्यौ, त्याहाँका नागरिकहरु अत्ति पिडा नहुन्जेल रोग पालेर नै बस्ने रहेछन्’ डाक्टर मियाँले सुनाए ‘त्याहाँ पुग्दा बल्ल थाहा भो, सरकार सुगममा मात्रै हुने रहेछ, दुर्गममा होइन । पहुँच धन हुनेसंग मात्र छ, नहुनेसंग केहि छैन ।’
समाजिक कार्यमा कृयाशिल हुने उदेश्यसहित डाक्टरद्धय मियाँ र अधिकारीले अघिल्लो बर्ष गैरनाफामुलक संस्थाका रुपमा हिमालयन हार्ट एण्ड हिलिङ स्थापना गरेका थिए । स्थापना लगत्तै बिभिन्न दुर्गम बस्तीका नागरिकलाई आधारभुत स्वास्थ्यसेवाको पहुँचसम्म पु¥याउन संस्थाले बिभिन्न पहलकदमी लिदै आएको डाक्टर अधिकारीले बताए । ‘जहाँ सरकार पुग्दैन त्याहाँ हामी पुगेर थोरै भएपनि स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य हो’ उनले थपे ।
नेपालका धेरै ग्रामिण क्षेत्रका नागरिकले अझैपनि उपचारको अभाव र रोग समेत पत्ता नलगाी ज्यान गुमाउनुपर्ने बाध्यतालाई चिर्न यो अभियानको सुरुवात गरिएको उनिहरुको भनाई छ । उनिहरुकै सकृयतामा अघिल्लो बर्ष सगरमाथाको आधारशिविरमा समेत स्वास्थ्य शिविर आयोजना भएको थियो ।