गोरखा । गोरखाका बिभिन्न पालिकाका गरेर पाँच विधालयमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको छ । पालुङटार नगरपालिका ४ बारपिर्के निवासी ग्लोबल गोरखा समाजका संस्थापक महासचिव तथा वर्तमान सल्लाहकार विनोद पोखरेलको पहलमा पालुङटार, सिरानचोक र अजिरकोटका बिभिन्न विधालय तथा विधार्थीलाई शैक्षिक सामाग्रीका साथै छात्रवृत्ति सहयोग गरिएको हो ।
जसमा पालुङटार नगरपालिका १० को मदनेडाँडाँ मावि, वडा नम्बर ३ को डुम्रे आधारभुत विधालय, वडा नम्बर ५ को भवानी बहुमुखी क्याम्पस साथै सिरानचोक गाउँपालिका १ केराबारीको महेन्द्रज्योती प्राथामिक विधालय र अजिरकोट ४ झ्यावाको हिमालय माविमा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
काठमाण्डौको बालाजुचोक र बागबजारमा कार्यालय रहेको कोतोदामा कन्सल्टेन्सी एण्ड ल्यांग्वेज इन्स्टिच्यूट र सहकारी ऋण कोष कुपण्डोलको सहयोगमा ति विधालयहरुमा लाइब्रेरीका लागि उपयोगी पुस्तक, स्टेशनरी सामाग्री खेलकुदका सामाग्रीहरु वितरण गरिएको समाजसेवी समेत रहेका शैक्षिक अभियान्ता पोखरेलले बताए ।
साथै भवानी क्याम्पसमा अध्ययनरत फरक क्षमता भएका विधार्थी गणेश सुनारलाई नगद छात्रवृत्ति समेत सहयोग गरिएको छ । यो सहयोग भने गोरखाको शहिद लखन गाउँपालिका नामजुङ स्थायी घर भई हाल जर्मन बस्ने रामप्रताप थापाले गरेको बताइएको छ । उनले ति विधार्थीलाई यसअघिदेखि नै सहयोग गर्दै आइरहेका छन् ।
कोतोदामा कन्सल्टेन्सी एण्ड ल्यांग्वेज इन्स्टिच्यूटका सञ्चालक समेत रहेका पोखरेलले यसअघि समेत पालुङटारको भवानी क्याम्पसमा सुविधासम्पन्न पुस्तकालय निर्माण, भृकुटी आधारभुत विधालय अक्षयकोष स्थापना, अमरज्योती विधालयमा दृष्टिविहिनका लागि सहयोग लगायत त्यस क्षेत्रको शैक्षिक विकासमा भुमिका खेल्दै आएको छन् ।