गोरखा । नयाँ बर्षका अवसरमा आगामी बैशाख १ गते पश्चिमकाली मेला हुने भएको छ । पश्चिमकाली तथा खड्कदेवी मन्दिर व्यवस्थापन समिति आयोजनामा गोरखा नगरपालिका वडा नम्बर ५ को पश्चिमकाली मन्दिर परिसरमा १९ औं मेला गर्न लागिएको अध्यक्ष विनोद अर्यालले बताए ।
गोरखा पर्यटन बर्षलाई समेत केन्द्रमा राखेर मेला आयोजना गरिएको उनको भनाई छ । स्थानीय कला संस्कृती, भेषभूषा, रीति तथा परम्पराको संरक्षणका गदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न मेलाको आयोजना गरिएको अध्यक्ष अर्यालले बताए । साथै मेलाले पश्चिमकाली, पस्लाङ, चिल्ड्रेनपार्कसहितका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्र्रचारप्रसार हुने समेत आयोजकले विश्वास लिएको छ ।
गोरखा विकासमा पर्यटनको आधार, ओझेल परेका सम्पदाको खोजी र प्रचार भन्ने मुल नाराका साथ आयोजाना गर्न लागिएको मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने बताइएको छ ।
गोरखा नगरपालिका, वडा कार्यालय, लगायत सहकार्यमा आयोजना गर्न लागिएको मेलामा स्थानीय महिला समुह, टोलविकास संस्थाको झाँकीसहितको प्रस्तुती, आस्थाकी देवी पश्चिमकाली, अन्नपूर्ण, अकलामाई तथा भगवान श्रीकृष्णको विशेष पूजाआराधाना, मगर समुदायको पञ्चेबाजा, मान्द्रेढुंगाको बालुननाँच, स्थानीय झ्याउरे तथा दोहोरी गीत, नृत्य, बिभिन्न कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने छ ।
त्यस्तै मेलाकै अवसरमा पस्लाङ होमस्टेको विशेष खानाका परिकारको समेत ब्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्यालले बताए । समुन्द्री सतहदेखी ४२ सय फिटको उचाईमा रहेको पश्चिमकाली मन्दिर आसपास नामरुङ देवी, खड्गदेवी मन्दिर, द्रब्यशाहको शालिक लगायतका पर्यटकिय क्षेत्र छन् ।
हरेक बर्षको बैशाख १ गते आयोजना गरिने यस मेलाले यस क्षेत्रको मात्र नभई समग्र गोरखा नगरपालिकाको पर्यटन प्रवद्र्धन हुने आयोजकको विश्वास छ ।