काठमाडौं । नेपाल युवा संस्था सञ्जाल (आयोन) ले बागमती प्रदेश सरकारलाई युवाका विभिन्न सरोकारका विषयमा ध्यानाकर्षण गराउँदै १४ बुँदे मागपत्र बुझाएको छ । सो मागपत्रमा युवाको हक, रोजगारी, नीति निर्माण, शिक्षा, स्वास्थ्य, डिजिटल सुरक्षा र समावेशीकरणजस्ता महत्वपूर्ण विषय समेटिएका छन् ।
आयोनले नेपालमा युवाहरूको ठूलो जनसंख्या रहेको उल्लेख गर्दै, राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०२५, र राष्ट्रिय युवा परिषद् ऐन २०७२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ । महामारी र आर्थिक मन्दीका कारण ठूलो संख्यामा बेरोजगार बनेका युवाहरूलाई स्वरोजगार तथा व्यवसायिक तालिममार्फत उत्पादकत्वमा ल्याउन विशेष नीति आवश्यक रहेको मागपत्रमा उल्लेख गरिएको छ ।
संस्थाकी अध्यक्ष सुजता बरालको नेतृत्वमा गएको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) लाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमार्फत युवा लक्षित शिक्षा प्रणालीलाई व्यवहारिक बनाउने, प्राविधिक तथा व्यवसायिक तालिमलाई प्राथमिकता दिने, स्वरोजगारका लागि सहुलियतपूर्ण ऋण र अनुदानको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
स्वास्थ्य तथा सामाजिक सुरक्षाका सवालमा आधारभूत स्वास्थ्य सेवा, सुरक्षित गर्भपतन, तथा लैंगिक तथा यौनिक अल्पसंख्यकका अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले विशेष पहल गर्नुपर्ने विषय पनि उठाइएको छ ।
साथै, स्थानीय तहमा युवा लक्षित नीति तथा संरचना निर्माण गरी युवालाई निर्णय प्रक्रियामा सहभागी गराउने, विपद् न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन रणनीतिमा युवाको नेतृत्व सुनिश्चित गर्ने, र डिजिटल सुरक्षाका लागि आवश्यक नीति निर्माण गर्ने प्रस्तावहरू पनि मागपत्रमा उल्लेख गरिएको छ ।
यसअघि आयोनको टोलीले बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई समेत सोहि १४ बुँदे मागपत्र बुझाइसकेको छ ।
सातै प्रदेशका ९२ वटा युवा संस्थाहरूको साझा सञ्जालका रूपमा क्रियाशील आयोन विगत १८ वर्षदेखि युवाका अधिकार, क्षमता अभिवृद्धि तथा नीति पैरवीमा सक्रिय रहँदै आएको छ ।