गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाका उम्मेदवार सुलभ अम्गाईको प्यानल विजयी बनेको छ । सत्ता पक्ष नेपाली काँग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुको संयुक्त प्यानललाई हराउँदै समाजवादी प्यानलका अम्गाईको प्यानल बिजयी बनेको हो ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अम्गाईले सभापतिमा नेविसंघका रचन परियारलाई ४८ मतले पछि पार्दै निर्वाचित भएका हुन् । अम्गाईले २०९ मत ल्याएका छन् भने परियारले १६१ मत ल्याएका छन् ।
त्यस्तै सचिवमा १९९ मत ल्याएर अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा अर्याल बिजयी बनेकी छन् । सदस्यहरुमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् । उनीहरु सबै अखिल क्रान्तिकारीका हुन् ।
गोरखा क्याम्पसमा क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियु समाजवादीको संयुक्त प्यानल बनेको थियो ।