गोरखा । झण्डै ४ करोड रुपैया लगानीमा प्रभात किरण माध्यामिक विधालयको भवन निर्माण सम्पन्न भएको छ । धार्चे गाउँपालिका ७ लापुवेशीमा एकिकरण नेपाल गोरखाले जापान सरकार परराष्ट्र मन्त्रालयको अनुदान सहयोग एवं चाइल्डफण्ड जापानको प्राविधिक सहयोगमा विधालय भवन निर्माण गरेको हो ।
निर्माण सम्पन्न भएको सुविधासम्पन्न आठ कोठे भवनको मंगलबार एक कार्यक्रमकावीच नेपालको लागि जापानको दुतावासका चार्ज डी अफ्यर एड इन्टेरियम तामुरा ताकाहिरो तथा गाँउपालिकाको अध्यक्ष श्री लक्ष्मण गुरुङले संयुक्त रुपमा भवन उद्घाटन गरेका छन् । साथै ताकाहिरोले विधालयको चावी प्रधानाध्यापक जीत बहादुर गुरुङलाई हस्तान्तरण समेत गरेका थिए ।
२०७२ सालको भुकम्प पछि निर्माण गर्न बाँकी रहेको उक्त विद्यालय झण्डै ४ करोड लगानीमा बनेको हो । नवनिर्मित भवनमा सुविधासम्पन्न ८ वटा कक्षाकोठा, ग्याविन पर्खाल, कक्षाकोठा फर्निचर, खानेपानीको व्यवस्था, खेलमैदान लगायत निर्माण गरिएको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले वताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपालको लागि जापानको दुतावासको चार्ज डी अफ्यर एड इन्टेरियम तामुरा ताकाहिरोले गोरखाको दुर्गम गाँउमा आएर विद्यालय वनाउन पाउँदा खुशी व्यक्त गरे ।
उनले विद्यालय भवन निर्माण भएपछि बालबालिका सुरक्षित रुपमा विद्यालय पढ्न पाउने हुँदा यसले पढाईको गुणस्तरमा समेत सुधार आउने अपेक्षा व्यक्त गरे । कार्यक्रममा गाँउपालिका अध्यक्ष गुरुङले एकिकरण नेपाल गोरखा, चाइल्डफण्ड जापान र जापानी नागरिकहरु प्रति कृतज्ञता व्यक्त गर्दै सुरु भएको ९ महिनामै यति धेरै काम भएकोमा संस्थाप्रति आभार व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, चाइल्डफण्ड जापानको कार्यक्रम निर्देशक मासाहिरो, नेपालको निर्देशक आङ पासाङ शेर्पा, एकिकरण नेपालका कार्यकारी निर्देशक देवकोटा, वडा अध्यक्ष राकेश गुरुङ, विद्यालयको प्रधानाध्यापक गुरुङ लगायतले मन्तव्य राखेका थिए ।