गोरखा । गोरखा नगरपालिका १३ घर भएका भगवान ठकुरीलाई उपमेयर मसलीमाया थोकरले खाद्धान्न जुटाइदिएकी छिन् । शारिरिक रुपमा समेत अशक्त रहेका ठकुरीको हेरचाह गर्ने कोही नभएपछि उपमेयर थोकरले केहिदिनका लागि पुग्ने खाद्धान्न जुटाइदिएकी हुन् ।
एकिकरण नेपाल गोरखासंग अनुरोध गरेर ठकुरीलाई करिब ८ हजार बराबरको खाद्धान्नको जोहो गरिदिएको उनले सुनाइन् ।
‘भगवान दाईको पूरै शरिरभरी घावैघाउ छ, मान्छे नजिकै पर्न खोज्दैनन, बुवाआमा सबै बितिसक्नु भएछ, घरमा पनि एक्लै भएकाले हेरचाह गर्नेपनि कोही रहेनछन्’ उपमेयर थोकरले भनिन् ‘हिजो मलाई उहाँले नै फोन गरेर एक हप्तादेखि खाना खान नपाएको सुनाउनु भयो, आज एकिकरणका हरि देवकोटा सरसंग अनुरोध गरेर केहि समयलाई पुग्ने खानेकुरा घरमा पु¥याएर आएको छु ।’
शरिरभरी घाउ भएकाले हिडडुल गर्न समेत नसक्ने ठकुरीलाई एकिकरणले २ बोरा चामल, तेल, दाल, ग्याँस लगायतका खाद्धान्न सहयोग गरेको छ । ६ महिनाअघि आफ्नो जन्मदिनको अवसर पारेर ब्यक्तिगत रुपमा ७ हजार ५ सय बराबरको खाद्धान्न सहयोग गरेकी उपमेयर थोकरले बेसहारा र अशक्त रहेका ठकुरीलाई सहयोगका लागि आह्वान समेत गरेकी छिन् ।
‘भगवान दाईको कष्टकर जिवन देख्दा सारै दुख लाग्छ, केहि मनकारीले थोरै थोरै भएपनि सहयोग गरिदिए अलि सहजसंग जिवन जिउथे होलान् जस्तो लाग्छ’ उनले सुनाइन् । सहयोग गर्न चाहानेले बेसहारा भगवान ठकुरीकै मोबाइल नम्बर ९७०७४०१४२३ मा सम्पर्क गर्न समेत उनले आग्रह गरेकी छिन् ।