गोरखा । धार्चे गाउँपालिका–७ लापुबेंसीमा रहेको प्रभात किरण माध्यामिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । भूकम्पपछि तत्कालिन बेलायती राजकुमार ह्यारीले अस्थायी संरचना निर्माण गरी पठनपाठन सुरु गराएका थिए । त्यसपछि उक्त विद्यालयमा स्थायी संरचना बन्न सकेको थिएन ।
‘ह्यारीले बनाएको स्कूल उनले पुर्ननिर्माण गरिदिन्छन्, भनेर सुरुमा कुनै पनि संस्थाले हाम्रो भवन पुर्ननिर्माण गरिदिएनन्,’ प्रधानाध्यापक जीवबहादुर गुरुङले भने,‘हामीले पनि उहाँले नै बनाइदिनुहुनेछ भन्ने आशामा बसेका थियौ, तर उहाँबाट थप सहयोग आएन ।’
त्यसपछि अन्य दाताको खोजी गरी विद्यालयमा स्थायी संरचना निर्माण गरिएको उनले बताए । अहिले चाइल्ड फण्ड जापानको लगानीमा एकिकरण नेपालले विद्यालय भवन निर्माण गरिदिएको हो ।
‘दुई तले भवनका आठ वटा कोठा र ८ वटै धारा निर्माण भएको छ,’ उनले भने, ‘हामीले मेघा विद्यालयको क्नसेप्टमा भवन निर्माण गरेका छौं ।’ हाल सञ्चालन भइरहेको विद्यालय क्षेत्रमा भन्दा उक्त भवन निमार्ण पश्चात नयाँ भवनबाट कक्षा सञ्चालन गर्न धेरै नै सहज हुने उनको विश्वास छ ।
‘हामीलाई मा.वि कक्षा सञ्चालनको लागि कम्तीमा पनि १२ देखि १४ कोठा आवश्यक पर्छ, यी कोठाहरु प्रयाप्त छैनन्,’ उनले भने, ‘त्यसको लागि पनि स्थानीय तह, संघसस्थाले पनि सहयोग गर्नुपर्ने आवश्यकता छ ।’
उक्त संरचना बाहेक पनि ६ कोठाको भवन, ग्याबिन वाल, कम्पाउन्डिङ वाल, गेट घेराबार पक्की शौचालय निर्माण लगायतको कामहरु गर्नुपर्ने अबस्था रहेको उनको भनाई छ । २०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले १६१ जना विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् । नवनिर्मित विद्यालय भवनको आगामी चैत ५ गते उद्धघाटन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
त्यस्तै संघीय सरकार र प्रदेश सरकारको लगानीमा सोही विद्यालयको छात्राबास भवन र सामाजिक विकास कार्यालय गोरखाको लगानीमा प्रशासनिक भवन समेत बन्दै गरेको उनले बताए । २०७५/०७६ सालदेखि निर्माण थालिएको छात्राबास भवनका झण्डै ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
प्रदेश सरकारको लगानी निर्मााण भइरहेको भवनमा २०० जना विद्यार्थी क्षमता रहेको विद्यालयले जनाएको छ । अहिले चुमनुमब्री गाउँपालिका, धार्चे ३ को लाक्पाल, उहिया, दुङ्ला लगायतको स्थानका विद्यार्थी विद्यालय होस्टेलमा बस्दै आएका छन् । छात्राबास बस्ने विद्यार्थीहरुलाई प्रदेश सरकारले खान बस्ने व्यवस्था गर्दै आइरहेको उनले बताए ।
ह्यारीले भूकम्पको बेला अस्थायी संरचना बनाउन सहयोग गरेपनि त्यसपछि कुनै खालको सहयोग प्राप्त नभएको विद्यालयले जनाएको छ ।