गोरखा । गोरखा मल्टिट्यालेण्ट ग्रुपले आगामी फागुन २९ गते होलीको अवसरमा विशेष साँगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । होलीका दिन गोरखा सदरमुकाम स्थित रानीपोखरी परिसरमा ग्रुपले कन्सर्टसहितको साँगितिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको अध्यक्ष साजन गुरुङले बताए ।
ग्रुपले आज पत्रकार सम्मेलन गर्दै होली ग्राण्ड इभेण्टको सिजन पाँचका बारे जानकारी गराएको हो । यसअघि सिजन चारसम्म होली विशेष कार्यक्रम सम्पन्न गरिसकेको ग्रुपले कोरोना संक्रमणपछि आयोजना गरेको थिएन । तर यस बर्ष पुन होलीका दिन विशेष कार्यक्रमको आयोजना गर्ने तयारी थालिएको अध्यक्ष गुरुङको भनाई छ ।
‘यहि बर्ष गोरखा नगरपालिकाले पर्यटन बर्षपनि बनाँदैछ, त्यसलाई सफल बनाउनु पनि हामी सबैको कर्तब्य हो’ अध्यक्ष गुरुङले थपे ‘त्यससंगै स्थानीय कला, गला, संस्कृति, परम्पराको संरक्षणसंगै यहाँ भएका प्रतिभाको प्रसफुटन गर्दै युवा र आम नागरिकलाई मनोरञ्जन दिनु यो इभेण्टको मुख्य उदेश्य हो ।’
धारापानी घर भई हाल फ्रन्स बस्ने रञ्जित श्रेष्ठसहित गोरखा समाज फ्रान्सको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाई छ । कार्यक्रमको सह आयोजक भने दारी ग्याङ गोरखा रहेको छ ।
होली विशेष कार्यक्रममा जिएमजी ब्याण्ड, जिदान एण्ड द युनाइटेड सेभेनसहित चर्चित लोक गायक पृथ्वी गुरुङ, स्थानीय गायक विक्रमराज श्रेष्ठ, कुशल घताने लगायतको प्रस्तुती रहने दारी ग्याङका उपाध्यक्ष जयराम शाहीले बताए ।
दिउँसो १२ देखि बेलुका ६ बजेसम्म चल्ने कार्यक्रममा शो डान्स, हास्यब्यंग्य प्रहशन लगायत समेत हुने बताइएको छ ।