काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको हो । जसमा पुरस्कृत हुने देशभरबाट १० जनाको नाम घोषणा हुँदा गोरखा जिल्लाका मात्रै ३ जना परेका छन् ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेमा गोरखाका पूर्णिमा श्रेष्ठ, हरिराम श्रेष्ठ र रामजी अधिकारी रहेका छन् । पूर्णिलाई कीर्तिमानी पर्वतारोहीका रुपमा, हरिरामलाई विज्ञान प्रविधितर्फ र रामजीलाई मानवसेवा तथा समाजसेवातर्फ योगदान पु¥याएको भन्दै पुरस्कृत गर्न लागिएको हो ।
त्यस्तै पुरस्कृत हुने अन्यमा टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) छन् ।
चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) पुरस्कृत हुने भएका छन् ।
पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।