• आइतबार, साउन १० २०८३

क्वारेनटाइन ब्यवस्थित भएपछि बस्नेहरु ‘दङ्ग’


शनिबार, असार २७ २०७७
1.8K
Shares

मोहसिन अलि मियाँ
गोरखा । सुक्पाल गुरुङ एक हप्ताअघि साउदीबाट नेपाल आए । नेपाल ओर्ले लगत्तै सरकारी अधिकारीले उनलाई जिल्लामा गएर क्वारेनटाइनमा बस्नुपर्ने भनेपछि निराश बन्दै उनी ६ दिन पहिला गोरखा आइपुगेका थिए ।

क्वारेनटाइनमा बस्न मन नभएपनि जवरजस्ती उनि गोरखा नगरपालिका १० को मनकामना बहिरा आवासिय विद्यालयको क्वारेनटाइन पुगे । तर उनले सोचेको क्वारेनटाइनको माहोल भन्दा भिन्न वातावरण त्याहा पाएपछि उनि केहि हदसम्म भएपनि मन प्रफुल्ल बनेको बताउछन् ।

‘साउदीमा हुदै समाचारमा हेरेको, देखेको नेपालको क्वारेनटाइन सम्झदा भागेर गाउँ पुगौ–पुगौ लागेको थियो’ गुरुङ सम्झन्छन् ‘तर के गर्ने परिवारको सुरक्षाका लागि पनि आफु बस्नुपर्छ भन्ने सोचेर आए, यहाँको माहोल त पुरै भिन्न रैछ, सोचेको भन्दा विलकुल फरक ।’

चारैतिर हरियाली वातावरण, छुट्टै भवन, त्यसमा पनि अलग अलग बस्ने कोठासंगै वाइफाइको पनि ब्यवस्था । ‘यहाँ आएदेखि परिवारसंग भिडियोकलमा बात गरिरहेको छु, मलाई त यो क्वारेनटाइन होइन आर्मीको ब्यारेक जस्तो लाग्छ’ कतारबाट केहिदिनअघि आएका इश्वर बस्नेतले भने ‘रमाइलो छ, कोरोना नलाग्ने हो भने म त जति दिन बस्न पनि तयार छु ।’

गोरखा नगरपालिकाले ब्यवस्थापन गरेको सो क्वारेनटाइनमा बिहान सधै दुई घण्टा नेपाली सेनाले उनिहरुलाई ब्यायम पनि गराउछ । सुरुवातदेखि नै सुरक्षा र ब्यवस्थापनमा सघाएको सेना र प्रहरीको टोली हरेक दिन बिहान २ घण्टा उनिहरुलाई मात्रै होइन संगै आफु पनि नाच्ने र ब्यायम गर्ने गर्छन । अहिलेसम्म १ सय ३६ जना बसिसकेका यस क्वारेनटाइनमा हाल १८ जना मात्रै बाँकी रहेको त्याहा कार्यरत ज्योती श्रेष्ठ बताउछिन् । उनिहरु सबै भारत, कतार, साउदी, दुबई लगायतका देशबाट आएका हुन् ।

उनिहरुको खानपान, सुरक्षा, स्वास्थ्य परिक्षण लगायतको ब्यवस्थापनका लागि गोरखा नगरपालिकाले सुरुदेखि नै ६ जना कर्मचारी सो क्वारेनटाइनमै खटाएको छ भने ७ जना नेपाली सेना र २ जना नेपाल प्रहरी समेत २४ सै घण्टा खटिएका छन् ।

क्वारेनटाइनमा आउने वित्तिकै सामान्य स्वास्थ्य परिक्षण गराएर ब्यक्तिगत आधारभुत सरसफाई सामाग्री प्रदान गरिने गरेको स्वस्थ्यकर्मी श्रेष्ठले बताइन् । जसमा मास्क, सेनिटाइजर, साबुन, ब्रस, मन्जन, नङकट, चप्पल, तेल, काइयो, टावेल लगायतका सामाग्री राखिने गरेको उनी बताउछिन् ।

यस क्वारेनटाइनमा गोरखा नगरका मात्रै होइनन जिल्लाका अन्य पालिकाका नागरिक समेत बस्दै आएका छन् । सुरुवाती चरणमा मझुवा नाका भएर प्रवेश गर्ने अधिकांशलाई हप्ता दश दिनसम्म पनि यहि क्वारेनटाइनमा राखिने गरेपनि हाल भने त्यस्ता नागरिकको संख्या न्यून छ ।

‘सुरुमा अरु पालिकामा क्वारेनटाइन बनिसकेको अवस्था थिएन, यहाँ राखेर पिसिआर परिक्षणपछि मात्रै लगिन्थ्यो’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘अहिलेपनि त्यो ट्रेन त छ तर केहि कम भएको छ ।’ ब्यवस्थापनका बिषयमा कुनै कसर नराखी ब्यवस्थित बनाउने र उनिहरुको चित्त बुझाउने प्रयास नगरपालिकाले गरेको नगरप्रमुख पन्तले बताए ।

यस क्वारेनटाइनमा बसेका मध्ये हालसम्म १० जनामा कोरोना पोजेटिभ आएको छ तर उनिहरुमध्ये ७ जना भने निको भएर घर फर्किसकेका छन् । ३ जना भने हाल गोरखा क्याम्पसको आइसोलेसनमा रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार